☰ open Loading... 28 November 2024|  

प्री-मनसुनका कारण वीरेन्द्रनगरमा ९१ मिलिमिटर वर्षा, के हाे प्री-मनसुन ?
  | १७ जेष्ठ २०७५, बिहीबार २०:०८

सुर्खेत । उपल्लो वायुमण्डलमा देखिएको स्थानीय प्रभाव र पश्चिमी वायुबाट सिर्जित न्यून चापीय वायुमण्डलको प्रभावलाई प्री–मनसुन भनिन्छ । कतिपय स्थानमा प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) र मनसुनको जम्काभेट हुन्छ ।

पूर्वबाट प्रवेश गरेको मनसुनले बिस्तारै यो प्रणालीलाई धकेल्छ र मनसुन सक्रिय हुन्छ । बंगालको खाडीबाट पूर्वी नेपालहुँदै पश्चिम प्रवेश गर्ने मनसुनभन्दा अगाडी नेपालमा प्री–मनसुन सक्रिय हुन्छ ।

मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाका अनुसार प्री–मनसुनलाई वर्खामा सक्रिय हुने मनसुनलाई स्वागत गर्ने वायु भनिन्छ ।

बिहिबार वीरेन्द्रनगरममा झरेको पानी पनि प्री–मनसुन हो । कार्यालयले वीरेन्द्रनगरमा बिहिबार दिउसो ईत्राम मापन केन्द्रमा ९१ र एयरपोर्टमा ४७ मिलिमिटर वर्षा भएको मापन गरेको छ ।  ‘यस्तो मौसम केही दिनसम्म जारी रहन्छ’ कार्यालयका प्रमुख सापकोटाले भने,‘स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभाव यो क्षेत्रमा एक÷दुई दिन देखिने भएकाले पानी पर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।’

यो वर्षको मनसुन सक्रिय भएको छैन । तर विगतका वर्षभन्दा यो वर्ष ठिक्को वर्षात हुने सापकोटा बताउँछन् । ‘वर्षातमा पर्नुपर्ने पानी यो पटक पर्छ, तर त्यति ठूलो वर्षा यो पटक नहुने संकेत देखिएको छ ।’ बंगालको खाडीबाट शुरु हुने मनसुन यो पटक एक÷दुई दिन अघिदेखी नै सक्रिय हुने सापकोटाले जानकारी दिए ।

बंगालको खाडीमा हल्का मनसुन सक्रिय भएपनि एक हप्तामै थाहा हुने उनको भनाई छ । नेपालमा सामान्यतया अंग्रेजी महिनाको जुन १० तारेखदेखि नेपालमा मनसुन सुरु हुने गर्दछ । भारतको केरला हुँदै पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुन विस्तारै देशभर फैलिन्छ । मनसुन अवधिभर एक हजार चारसय २२ मिलिमिटर पानी पर्नुलाई सामान्य मनिने गरेको सापकोटा बताउँछन् ।