☰ open Loading... 26 April 2024|  

दुई वर्षमै प्रदेश राजधानीमा अन्तर्राष्ट्रिय रंगशाला बनाउँछौं : शाही
  | १९ जेष्ठ २०७५, शनिबार २०:०३

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सुर्खेत । कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने उदघोष सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले गरेका छन् । वीरेन्द्रनगरमा प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै शाहीले कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन बजेट विनियोजन गरिएको पनि जानकारी दिएका छन् ।

खेल जगतको विकासका लागि सबैभन्दा पहिला पूर्वाधार आवश्यक रहेकाले परिणाम स्वरुप संघीय सरकारले यो वर्ष रंगशाला निर्माणको डीपीआर निर्माण गरी आगामी वर्षबाट निर्माण सुरु गर्ने शाहीको भनाई छ । ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ हरिबहादुर रोकाया जन्माउने कर्णाली प्रदेशले मुलुकको नाम संसारमा फैलाउन सहयोग गरेको स्मरण शाहीले गराए ।

‘खेलाडीले देशको नाम विश्वमा चम्काउन सक्छन् त्यसैले खेल क्षेत्रको विकासका लागि सबै तहका सरकार एकतावद्ध भएर लाग्न जरुरी छ’ शाहीले भने । खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग विशेष पहल गर्नमा आफू लागेको प्रदेश सभा सांसद पद्मा खड्काको भनाई थियो ।

भोली (सोमबार) सम्मसञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट र एथलेटिक्स खेल समावेश गरिएको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले जानकारी दिईन् । उनका अनुसार सहभागी खेलाडीले स्वर्ण, रजत र कास्य गरी ३ सय ४ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रदेशका १० वटै जिल्लाबाट ८ सय ४० खेलाडी सहभागी छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले जानकारी दिए ।