☰ open Loading... 18 April 2024|  

सिम्तालाई कला साहित्यको ‘हब’ बनाउन जोड
  | १९ जेष्ठ २०७५, शनिबार २०:०१

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकालाई कला र साहित्य पर्यटनको ‘हब’को रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।  सिम्ताली कला र साहित्यका कारण एक छुट्टै पहिचानयुक्त गाउँपालिका बनेको र अव यसलाई सिम्ताको समृद्धिसँग जोड्नुपर्ने उनीहरुले बताएका हुन् ।


सिम्ताली कला साहित्य महोत्सव २०७५ अन्तर्गत कार्यशालामा सहभागिहरुले यस्तो बताएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैं, सिम्ता गाउँपालिका र सिम्ताली एकता समाजले आयोजना गरेको महोत्सवका प्रमुख अतिथी प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरीले सिम्तामा रहेका लोक कला संस्कृति अन्य कुनै ठाउँमा नरहेको दावी गरे ।

साथै उनले सिम्तालाई कला साहित्य पर्यटनको मुख्य केन्द्र बनाउनुपर्ने बताए । कार्यक्रममा सिम्ताली भाषाका विषयमा यामराज गिरीले र सिम्ताली लोक तथा साहित्यका विषयमा थानेश्वर लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन खोपीराम लम्सालले टिप्पणी गरेका थिए । यस्तै सिम्ताको लोपउन्मुख सरेली गीत स्थानीय ७० वर्षमाथिका ज्येष्ठ नागरिकले प्रस्तुत गरेका छन् ।

यस्तै त्यहाँको लोपउन्मुख ठाडी भाका, आशिष गीत पनि प्रस्तुत गरिएको छ भने लोपउन्मुख ह्यूपा नाँच, सिंगारु, गर्रा, पञ्चेवाजा नृत्य पनि प्रस्तुत भएको छ ।

महोत्सव अन्तर्गत सिम्ताली राज्यको कथामा आधारित ‘सतिकलशा’ नाटकसमेत प्रदर्शन गरिएको छ । कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, विभीन्न क्षेत्रका विज्ञ, साहित्यकार, कलाकारलगायतको सहभागिता थियो ।