☰ open Loading... 27 November 2024|  

कर्णाली सरकारको बैठक अबदेखि हरेक शनिबार
  | २० जेष्ठ २०७५, आईतवार १९:२३

सुर्खेत । कर्णाली प्रदेश सरकारका मन्त्रीपरिषद्का आकस्मिक बाहेक बैठकहरू अबदेखि हरेक साताको शनिबार हुने भएका छन् । आइतबार बसेको कर्णाली सरकारको बैठकले बिदाको दिनलाई पनि उपयोग गर्ने नीतिअनुसार शनिबार बैठक बस्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

बैठकले गाउँसभा र नगरसभाको कार्यसंचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७५ को मस्यौदा प्रदेशसभामा पेस गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, जिल्ला सभाको कार्यसंचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन्। आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका–२०७५ प्रदेश सरकारले स्वीकृत पनि गरेको छ।

यसैगरी प्रदेश सार्वजनिक व्यवस्था तथ संचालनसम्बन्धी विधेयक-२०७५, प्रदेश विद्युत् विकास, उत्पादन र व्यवस्थापनसम्बन्धी विधेयक-२०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी विधेयक-२०७५को मस्यौैदा तर्जुमाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि भएको मन्त्री केसीले जानकारी दिइन्।