☰ open Loading... 28 November 2024|  

कर्णालीका मन्त्रीको सम्पत्ती कति ?
  | २२ जेष्ठ २०७५, मंगलवार २०:२४

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मंगलबार सात जना मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको हो ।

७ लाख बैंक व्यालेन्स भएका मुख्यमन्त्री

मुख्यमन्त्री शाहीको कालिकोटको पाँचलझरनामा अंशवण्डा नभएको ५ रोपनी जग्गा छ । श्रीमती चन्द्राकुमारी शाहीको नाममा कैलालीको टिकापुरमा २ लाखमा खरिद गरेको १६ हजार ९५० बर्गमिटर जमिन र पुख्र्यौली सुन ६ तोला र चाँदी दुइसय तोला मुख्यमन्त्रीको रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नवराज बरालले जानकारी दिए ।

उनले मुख्यमन्त्रीका नाममा खाता रहेको एभेरेष्ट बैंकमा २ लाख र बाणिज्य बैंकमा ५ लाख रकम बचत रहेको खुलाएको बताए । यो रकम मुख्यमन्त्रीले तलबबाट आएको उल्लेख गरेका छन् ।

कृषि सहकारी संस्थाको संस्थापक सदस्य समेत रहेका शाहीले एक थान १० हजार र सुजो मल्टीप्रपोज प्रालिमा दशलाखमा एक थान शेयर लिएका छन् ।

प्रालीमा लगानी गरेको रकम तलव र व्यापारबाट आएको शाहीले खुलाएका छन् । मुख्यमन्त्रीले आफ्नो नाममा १५ लाखको मारुती कार र गाउँमा पाँच हजार कुखुरापालनमा १० लाख तथा तरकारी उत्पादनबाट २ लाख पाँच हजारको लगानी गरेका छन् ।

१४ लाख नगद भएका मन्त्रीको ३३ लाख ऋण

सल्यान स्थायी घर भएका प्रदेश अर्थमन्त्री प्रकाश ज्वाला ज्वालाको वंगाड कुपिण्डे नगरपालिकामा भाई बलबहादुर साहुको नाममा १५ सय वर्गमिटर र बर्दिया बाँसगढीमा आमा टिकी साहुको नाममा एक लाखमा खरिद गरेको १३ धुर जग्गा पुख्र्यौली सम्पत्ती भएको खुलाएका छन् ।

तर ज्वालाको नाममा काठमाडौं महानगरपालिका–१६ मा १५ लाखमा ८ सय वर्गमिटर चलअचल सम्पत्ती रहेको उल्लेख गरेका छन् । यस्तै ज्वालाकै नाममा शारदा नगरपालिका–३, दाङको तुल्सीपुर र घोराहीमा पनि जग्गा छ ।

उनले यो जग्गा पारिश्रमिकबाट किनेको खुलाएका छन् । ज्वालाको नाममा राष्ट्रिय बाणिज्य, कृषि विकास र एभरेष्ट बैंकमा १४ लाख ६० हजार नगद तथा ३ तोला सुन र १० तोला चाँदी छ ।

२३ हजार तीनसय शेयर संख्या लिएका ज्वालाले आफू र छोराको नाममा ५० लाख ६५ हजार शेयर लागानी गरेका छन् । यो रकम विभिन्न बैंक तथा ३३ लाख ५० हजार ऋण लिएको खुलाएका ज्वालाको नाममा एक ट्याक्टर, एक टिभी, एक ल्यापटप र ६ थान मोवाईल छ । ज्वालाले गाउँमा २ भैंसी, २ गोरु र ४ बाख्रा छन् ।

१५ तोला सुन भएका गृहमन्त्री

जुम्लाका प्रदेश गृहमन्त्री नरेश भण्डारीको नाममा एक लाख नगद रकम, १५ तोला सुन र १० तोला चाँदी रहेको सम्पत्ती विवरणमा छ । सुन र चाँदी पनि पैतृक सम्पत्ती रहेको भण्डारीले खुलाएका छन् ।

उनले जुम्लाको देपालगाउँमा बुवाको नाममा ७६ हजार वर्गमिटर पैतृक सम्पत्ती रहेको उल्लेख गरेका छन् । भण्डारीसंग २ थान मोवाइल र एउटा मोटरसाईकल छ ।

१६ धुर जग्गा र एक लाख बैंक व्यालेन्स भएका मन्त्री

हुम्ला घर भएका समाजिक विकास मन्त्री दल रावलले श्रीमती अनिता रावलको नाममा बाँकेको नेपालगञ्ज र हुम्लाको सिमिकोटमा ५१ लाखको २÷२ तले घर पारिश्रमिबाट बनाएको छन् ।

तर मन्त्री रावलको नाममा वीरेन्द्रनगरमा २५ लाखको १६ धुर जग्गा खरिद गरेका छन् । हुम्लाको सार्केगाडमा ५० लाखको २५ रोपनी पुख्र्यौली जग्गा छ ।

यस्तै, रावलले विभिन्न समयमा १० लाखमा खरिद गरेको ५५ तोला सुन र १५० तोला चाँदी छ । मन्त्री रावलको नाममा एक लाख ५३ हजार बैंक रकम र श्रीमतीका नाममा २६ लाख ६५ हजार रकम छ ।

यो रकम मन्त्रीले विविधबाट र श्रीमतीको नाममा रहेको उनको पारिश्रमिक र ओभरड्राफको हो । रावलको पैतृक सम्पत्तीमा भैंसी ३, गाई–गोरु ११ र भेडा–बाख्रा ४५ ओटा छन् ।

 

सुन नभएकी मन्त्री

रुकुमको सिम्ली र दाङमा पुख्र्यौली जग्गा बाहेक सुन नभएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री हुन विमला केशी । उनको नाममा विभिन्न ठाउँमा ९ ओटा कित्ता रहेको जग्गा भएपनि यो पैतृक सम्पत्ती हो ।

ग्लोबल आईएमई बैंकमा खाता भएपनि मन्त्री केसीका नाममा एक रुपैयाँ छैन् । पिपुल्स इनर्जीको संस्थापक रहेकी केशीको शेयर १ लाख ५० हजारको छ । उनले यो रकम विभिन्न व्यवसाय तथा बौद्धिक श्रमबाट कमाएको खुलाएकी छन् ।

बैंक ब्यालेन्स नभएका मन्त्री

डोल्पा घर भएका मन्त्री नन्दसि‌ह बुढा बैंक ब्यालेन्स नभएका मन्त्री हुन् । उनी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री हुन् । उनको नाममा सिटिजन्स र नेपाल बैंक लिमिटेडका दुई बैंक खाता छन् । दुवै बैंकमा बैंक ब्यालेन्स छैन् ।

उनले खुलाएको सम्पत्ती विवरणमा डोल्पाको ठूलोभरीमा पैतृक सम्पत्तीमा जग्गा छ । चल सम्पत्तीमा बुढाले १५ तोला सुन र १ किलो चाँदी छ। मन्त्री बुढाको नाममा गाई, घोडा, भेडा र बाख्रा गरी २५ ओटा पुख्र्यौली सम्पत्ती बाहेक अरु सम्पत्ती छैन् ।

धनगढीदेखी भक्तपुरसम्म जग्गा भएका मन्त्री

प्रदेश ७ को धनगढीदेखी प्रदेश ३ को काठमाडौंसम्म जग्गा भएका मन्त्री हुन् खड्क खत्री । उनले खुलाएको सम्पत्ती विवरणमा श्रीमती पुष्पा खत्रीको नाममा धनगढीमा एक विगाह ७ कठ्ठा र मन्त्रीकै नाममा भक्तपुरको चाँगुनारायण नगरपालिकामा जग्गा छ ।

श्रीमतीको नाममा ३ कित्ता र आफ्नो नाममा ९ कित्ता जग्गा रहेको मन्त्री खत्रीले उल्लेख गरेका छन् । तर उनले यो जग्गा विभिन्न बैंकहरुबाट ऋण तथा व्यवसायीक आर्यआर्जनदेखी खरिद गरेका हुन् ।

मन्त्रीसंग २१ तोला सुन र एक किलो चाँदी छ । विभिन्न बैंकहरुमा मन्त्री र उनको श्रीमतीको नाममा ७५ लाख बैंक मौज्दात छ । नीजि विद्यालय, सहकारी, र प्रा.लि.मा ३ लाख २१ हजार २२१ शेयर संख्यामा ११ करोड ७६ लाख ७१ हजार तथा १ लाख ४६ हजार तीनसय पब्लिक शेयरमा ९ करोड ५० लाख ५३ हजार लगानी गरेका छन् । निर्माण व्यवसायी समेत रहेका मन्त्री खत्रीको प्रदिप कन्स्ट्रक्शन सेवा नाममा ३ जीप, ३ मोटरसाईकल, ८ स्काभेटर, ८ ट्रिपर लगायत छन् ।