दैलेख । गुराँसे जसको नामैबाटा थाहा हुन्छ । गुराँसको जंगल । सबैको मनमा गुराँसे भन्नेवित्तिकै रातो गुराँसको तस्विर मनमा झल्किने गर्छ । त्यही गुराँसको वनकै कारण गुराँसे नाम रहन गएको हो । गुराँस गाउँपालिकाको सुन्दर बजार गुराँसे कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखी २० किलोटिर गाडीमा १ घण्टाको दुरीमा छ । दैलेख सदरमुकामबाट ४५ किलोटिमर । वरपर अग्ला डाँडाँ, भिरहरु विचमा मिलेको गुराँसे बजार हेर्नकै लागि प्रख्यात छ । चिसो हावापानी, वरपर जहाँजती गुराँसको सानादेखी ठुलाठुला रुखहरु । नेपालगंज, सुर्खेतको गर्मी छल्न होस् या दैलेख सदरमुकामबाट लोकल कुखुराको स्वाद लिन । प्रायः यात्रु तथा आन्तरिक पर्यटकहरु गुराँसे नरोकी मनै थाम्दैनन् । अहिले गुराँसे बजार सवैको रोजाईमा परेको छ । कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन महोत्सवपछि गुराँसे सवैको मिलनविन्दु भएको छ । सुदुरपश्चिमका अछाम, बाजुरादेखी कालिकोट, जुम्ला र मुगु स्थल मार्ग भएर पुग्नेहरु गुराँसेको लोकल कुखुराको स्वाद र एक रात बाँस नबसी फर्कर्नै मान्दैनन् । अहिले सुदुपश्चिम अन्र्तगत ७ नम्वर प्रदेशका केही जिल्लाहरु र कर्णाली प्रदेशका उत्तरका जिल्लाहरु जाने प्रमुख थलो गुराँसे भएको छ । निकै छोटो मार्गका रुपमा रहेको गुराँसे हुँदै यात्रा गर्दा यात्रुहरु आनन्दित लिने गर्दछन् । ‘समयमै पुग्ने, निकै छोटो र गुराँसेको आतिथ्यता पुग्नेहरुका लागि सम्झन लायक छ ।’ मुगु गमगढीकी सम्झना शाह भन्छिन् ः ‘तत्कालिन कर्णाली छिर्नका लागि दैलेखको गुराँसे, महावु हुँदै पातमाघाट सडक स्तर उन्नती भए मुगु भकै दिन पुगीन्थ्यो ।’ आन्तरिक पर्यटन र गुराँसे भएर हिड्ने यात्रुकै कारण होटलहरुले आफ्नो सेवा थपिरहेका छन् । एक पटक यहाँ आउनेहरु जहाँ गएपनि गुराँसेको खाना र लोकल कुखुराको स्वाद विर्सदैनन् ।
सुर्खेतबाट विदाको दिन गुराँसे पुग्नेको भिड नै लाग्ने गर्दछ । गुराँसेको सुन्दरता र एकान्तमा समय विताउँन पुग्ने गर्दछन् । विदाको दिनमा गुराँसेका होटलहरु भरिभराउ हुने गर्दछन् । विशेषत ः गुराँसेको लोकल कुखुरा नै हो । गुराँसे तरकारी उत्पादन हुने स्थानका नामले पनि चिनिने गरेको छ । गुराँसेको तरकारीले दैलेख, सुर्खेत नेपालगंज कल्लाएको छ । यहाँ आउनेहरु प्राय तरकारी नासोका रुपमा लग्ने गर्दछन् ।
पूर्वाधारहरुको अभाव छ तर, पनि यहाँको भौगलिक सुन्दरताकै कारण घुम्नका लागि पाहुनाहरु आउने गरेको गुराँसेका होटल ब्यवसायी नमराज कँडेलले बताए । ‘यहाँ कर्णाली जानेहरु दैनिक रोकिन्छन् ।’ होटल ब्यवसायी कँडेलले भने, विदाको दिनमा घुम्न आउनेहरुको भिड् हुन्छ । अहिले बस्नको लागि सुविधा सम्पन्न कोठाहरु निर्माण गरेका छा्रै ।’ खासगरि गुराँसेमा दुई थरि समयमा विशेष भिड लाग्ने गर्दछ । गुराँस फुल्ने समय चैत्र, वैशाख अर्को समय हिउँदमा हिउँ खेल्नेदेखी हिमाल हेर्न आउँछन् । गुराँसेमा हिउँ पर्छ त्यो निश्चित समय हुन्छ तर, सदाबहार यहाँबाट देखीने सिस्ने, अपि र सैपाल हिमाल हेर्न सकिन्छ । यहाँबाट ७ जिल्लाहरुको भुभाग देख्न भएकाले पनि मानिसहरुको आर्कषण बढेको हो ।
गुराँसे किन आउने ?
गुराँसे आफैमा प्राकृतिक ठाँउ हो । जहाँ गुराँसका रुखहरुदेखी उत्तरतिर देखीने सिस्ने, अपि र सैपाल हिमालहरु देखीन्छ । पहाडैपहाडका लहरहरु एकएक गरेर हेर्न सकिन्छ । चिसो हावापानी, यहाँका परिकारहरु लोकल कुखुरा र सेल रोटी खान शान्त ठाँउ खोज्नेहरु आउने गर्दछन् । सुर्खेतको गर्मी छल्न प्रायको रोजाई नै गुराँसे हुने गर्दछ । यहाँको तरकारी अर्को आकर्षण हो । गुराँसे क्षेत्रको तरकारी अर्गानिक भएकाले सवैले रुचाउने गर्दछन् । महिनामा एक पटक रिफ्रेस हुनका लागि आफुहरु गुराँसे पुग्ने गरेको सुर्खेतका पत्रकार सुसिल खड्काले बताए । ‘गुराँसे पुग्नै पर्ने ठाँउका रुपमा परिचित भईसकेको छ ।’ पत्रकार खड्काले भने, विदाको दिनमा भिड निकै धेरै देख्न सकिन्छ । अव प्रदेश सरकारले यहाँको भौतिक विकासमा ध्यान दिए अँझ सुन्दरता हुने छ ।’ यहाँको पर्यटन विकासका लागि धन्नै २ करोडको भ्यू टावर निर्माणका कार्यक्रम अलपत्र अवस्थामा रहेको छ । टेन्डर प्रकृया मार्फत हुनुपर्ने भ्यू टावरको काम हुन सकेको छैन् ।
तरकारीले पनि प्रशिद्ध
गुराँसे लेकाली परिवेश र यहाँका होटलहरुमा पाईने स्वादिष्ट खानपानसंगै तरकारी उत्पादनले पनि परिचित छ । यहाँ आसपास लेकाली क्षेत्र भएकाले पनि थरिथरिका तरकारी उत्पादन हुन्छ । धेरै त आलु उत्पादन हुने गरेको छ । आलु धेरै उत्पादन हुन थालेपछि रस्टिक स्टोर पनि बनाईएको छ । जहाँ चिस्यानले आलुलाई बचाई राख्छ । आलुको माग बढेको बेला राम्रो मुल्य किसानले पाउँछन् । यहाँ बाह्रै महिना थरिथरिका तरकारी उत्पादन किसानहरुले गर्दछन् । यहाँबाट मात्रै किसानहरुले करोडौंको तरकारी निकास गर्दछन् । किसानकै घरबाट तरकारी उठाएर जिल्लाभित्र र बाहिर निर्यात गरिरहेको गुराँसेका तरकारी थोक विक्रेता श्याम कँडेलले बताए । तरकारीमात्रै नभएर यहाँ स्याउ र ओखर खेती समेत गरिएको छ । प्रयोगका रुपमा सुरुमा पशुपती लामोछानेले २०३२ सालमा जुम्लाबाट स्याउको वेर्ना ल्याएर लगाएका थिए । अहिले यहाँ स्याउ उत्पादन राम्रो भएको छ । अगुवा किसान लामेछानेले सुरु गरेको स्याउ र ओखर गुराँसेभर किसानहरुले लगाएका छन् । ‘मैले सुरुमा जुम्लादेखी वेर्ना ल्याएर स्याउ र ओखर लगाए ।’ अगुवा किसान लामेछाने भन्छन् ः अहिले राम्रो फलेको छ । आम्दानी पनि लिईरहेको छु । गुराँसेलाई चिनाउनका लागि र यहाँ आउनेहरु स्याउको बोट हेर्नका हाम्रो बारीमा आउने गर्दछन् ।’ जिल्ला कृषि विकास कार्यालयदेखी संघसंस्थाहरुले विगतमा यहाँका किसानलाई सहयोग गरेका कारण अहिले जिल्लाकै तरकारीमा उत्पादनका क्षेत्र एक नम्वरमा आएको छ । गुराँस गाउँपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएर निति तथा कार्यक्रम बनाएको छ ।