सोल- उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्। यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने तयारी गरिएको दक्षिण कोरियाली विदेशमन्त्रीले काङ कियाङ् ह्वाले जानकारी दिए।
उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने उनले खुलाएनन्। तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी उनले दिए।
यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उन सहमत भइसकेको जानकारी यसअघि नै दिइएको थियो। उनीहरुबीच गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक बैठकमा सो विषयमा सहमति भएको थियो।
दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको एक होटलमा सम्पन्न उक्त वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो। यसले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको थियो छ।
उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा पनि कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको सम्झौतापछि भने कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरण गर्ने आशा बढेको बताइएको छ।
कतिपयले भने दुई कोरियाको अप्रिल २७ मा सम्पन्न शान्तिवार्ता तथा अमेरिका र उत्तर कोरियाबीच जुन १२ मा भएको वार्ता तथा चारबुँदे सहमति पत्रमा हस्ताक्षरपछि कोरियाली प्रायद्वीपमा औपचारिक रुपमै युद्ध अन्त्य भइसकेको बताउँछन्।रासस/सिन्ह्वा