सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विद्युतको लो भोल्टेजका कारण उपभोक्ताले सास्ती झेल्नु परेको छ । सुर्खेत आउने ३३ केभि प्रशारण लाइनमा लो–भोल्टेज आएकाले विद्युत अनियमितहुँदा उपभोक्ताहरुले सास्ती व्यहोर्नु परेको हो ।
सुर्खेत मात्रै नभएर छिमेकी जिल्ला जाजरकोट र दैलेखका उपभोक्ता र व्यापारीहरु लो भोल्टेजका कारण गर्मीमा सास्ती झेल्नु परेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा विद्युत सेवा अवरुद्ध हुँदा विद्युतबाट हुने काममा सेवाग्राही सास्ती भोग्न बाध्य छन् । लो भोल्टेजले व्यापार, व्यवसाय, बैकिङ सेवालगायत क्षेत्रमा सेवा प्रवाहमा असर पुगेको छ । विद्युत अनियमित हुँदा दैनिक करौडौ रुपैयाँको व्यापार घाटा हुने गरेको व्यवसायीहरुको गुनासो छ ।
३० वर्ष अघिदेखि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको स्तरोन्नति नहुँदा समस्या आएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख सुरज भण्डारी बताउँछन् । उनका अनुसार विद्युतका पुराना संरचनाका कारण नागरिकहरुले सास्ती झेल्नु परेको छ । सुख्खायाममा मात्रै ८ ओटा ट्रान्सफर्मर हावाहुरीले खसाउँदा लाखौको क्षती भएको प्राधिकरणले जनायो ।
सुर्खेत ल्याएईको विद्युत लाइनमा ठूला विद्युत पोल विस्तार नगरेसम्म विद्युत समस्या बल्झिरहने प्राधिकरण स्वंयम बताउँछ । ‘सुर्खेतमा झण्डै ४२ हजार ग्राहकहरु छन्’ केन्द्रका प्रमुख भण्डारी भन्छन्, ‘ग्राहकहरुको संख्या एकातिर बढ्दै गएको छ अर्कोतिर विद्युतको संरचना स्तरोन्नति हुन नसक्दा हामीले पनि सास्ती भोग्नु परेको छ ।’
सुर्खेत र दैलेख आपूर्ति हुने विद्युत लाइनमा ठूला जंगल र मर्मतका लागि पहूँच मार्ग नहुँदा मर्मत सम्भारमा समस्या हुने गरेको भण्डारीको भनाई छ । कोहलपुरदेखी सुर्खेतसम्मका विद्युत लाइनमा बाग्लो जंगलले सुख्खा याममा रुख ढलेर र वर्षा याममा पहिरोले विद्युत सेवा ठप्प हुने गर्छ ।
कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनमा चैत १५ देखि असारपहिलो सातासम्म मात्रै १६७ पोल ढलेका छन् । पोल ढलेर अवरुद्ध भएको विद्युत अझै मर्मत भएको छैन । पर्याप्त जनशक्ति र बजेट अभावले तदारुकताका साथ अवरुद्घ विद्युत सेवा सुरु गर्न कठिनाइ भएको भण्डारीले जानकारी दिए ।
मापदण्डअनुसार पोलको दायाँ–बायाँ कम्तीमा तीन–तीन मिटर रूख हटाउनुपर्ने प्रावधान छ । तत्कालिन समयमा राजा वीरेन्द्रको सुर्खेत सवारी हुँदा आवश्यक तयारी र व्यवस्थापन गर्नका लागि ६ महिनाभित्र हतार–हतार प्रसारण लाइन विस्तार गरिँदा अहिले समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही बताउँछन् ।
३३ केभी क्षमताका कारण यस खण्डमा पोलहरू पनि साना भएकै कारण रूखका स–साना हाँगो पोलमा लाग्दा बारम्बार क्षती पुग्ने गरेको छ । सरकारले कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनको क्षमता विस्तारको प्रक्रिया अघि बढाएको चार वर्ष बितेको पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन् ।
१३२ केभी प्रसारण लाइनका लागि सुर्खेतको सुब्बाकुनामा स्टेसन निर्माण प्रक्रियासमेत सुरु भइसकेको छ । उक्त प्रसारण लाइनका लागि दुई कर्मचारी पनि खटिएका छन् । तर, कामको प्रगति सुस्त छ ।