☰ open Loading... 20 April 2024|  

गुरासँ गाउँपालिकामा प्रदेश कै ठूलो आलुचिप्स उद्योग स्थापना
  | २१ असार २०७५, बिहीबार ०९:३६

दैलेख । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा कर्णाली प्रदेश कै ठूलो आलु चिप्स र दालमोठ बनाउने उद्योग संचालनमा आएको छ । जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र गुराँस गाउँपालिकाको संयुक्त प्रयासबाट उक्त उद्योग संचालनमा आएको हो ।


बुधबारदेखी शुरु भएको उद्योग संचालनलाई प्रभावकारी बनाउन दस दिने तालिम शुरु भएको छ । नेपाल कै दक्ष प्राविधिकहरुले तालिम दिईरहेकाछन । जिल्ला लघु उद्यमी समूह संघ दैलेखका अध्यक्ष कविराज खत्रीको अध्यक्षमा सम्पन्न सीप विकास तालिमको उद्घाटन सत्रका प्रमूख अतिथि गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा वि.सी.ले, आजको युग उद्यमशीलता र प्रविधिको युग भएकाले समाजलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन गुराँस गाउँपालिकाले पहल गरेको बताईन । उनले, ‘यो उद्योगले गुराँस गाउँपालिकाका सयौं किसानहरुको माल खपत गर्ने र दर्जनौं बेरोजगारहरु स्वरोजगार हुने लक्ष्यका साथ स्थापना गर्न सहयोग गरेका बताईन ।
उदघाटन सत्र पश्चात शुरु भएको सीप विकास तालिममा प्रत्येक वडाका एक एक जना गरी कूल आठ जना सहभागि रहेकाछन । तालिममा सहभागि लघु उद्यमीहरुलाई दिनमा दुई घण्टा ब्यवशायका बारेमा शैद्धान्तिक प्रशिक्षण गर्नुका साथै बाँकी समय प्राकिटल गराउँदै दक्ष बनाईदैछ । मेसिन अपरेटिङ्ग गर्न र प्राविधिक ज्ञान, सीप सिकाउनका लागि काठमाण्डौका सफल ख्याती प्राप्त दुईजना प्रशिक्षकहरु आएकाछन । प्रशिक्षक राज्य लक्ष्मि श्रेष्ठ र सरिता जोसी(ब्रजाचार्य) २०४७ सालदेखी निरन्तर प्रशिक्षक भई विदेशमा समेत काम गरेको अनुभव रहेको छ । उनीहरुले खाद्य प्रदार्थ प्रसोधन गर्नका लागि सबै प्रकारका तालिमहरु दिने काम गर्दछन ।
कूल ८ लाखका ६ वटा स्वचालित मेसिनहरु गुराँस गाउँपालिकामा भित्रिएकाछन भने मेसिनको क्षमता प्रतिघण्टा २ क्विन्टल तयार गर्न सक्ने रहेको छ । प्रशिक्षार्थी लघु उद्यमीहरुले तालिम लिए पश्चात सहकारी दर्ता गरी सहकारीका माध्यमबाट उक्त उद्योग संचालन गर्ने बताएकाछन । यसका लागि गुराँस गाउँ पालिकाले औद्योगिक ग्राम स्थापना गर्ने, प्याकेजिङ्ग मेसिन र लेवल छपाईका लागि अनुदान दिने प्रतिवद्धता जाहेर गरेको छ । यसै गरि जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले उक्त उद्योगलाई सफलतामा पु¥याउन संस्थागत रुपमा ब्यवशायिक योजना निर्माण गर्ने, बजारीकरणका लागि संजाल निर्माण गर्ने र आवश्यक पर्ने ऋणका लागि वित्तिय संस्थाहरुसित पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
गुराँस गाउँपालिकामा स्थापना भएको आलु चिप्स र दालमोठ उद्योग कर्णाली प्रदेशकै सबैभन्दा ठूलो उद्योग हो । गुराँसेमा आलु उत्पादन धेरै हुने र चिसो हावापानीमा फलेकाले त्यहाँका आलु स्वादिलो हुन्छ । यहि कुरालाई मध्येनजर गर्दै जिल्ला लघु उद्यमी समूह संघ र गुराँस गाउँपालिकाले संयुक्त रुपमा उक्त उद्योग संचालनका लागि पहल गरेकाहुन । यो उद्योग सफल भयो गुराँस गाउँपालिकाका सयौं जना स्वरोजगार बन्नेछन । दैलेख जिल्लामा लघु उद्यम विकास कार्यक्र लागु भए यता करिब ३ हजार लघु उद्यमी श्रृजना भएकाछन भने लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु विदेश समेत निर्यात हुने गरेको छ । यसका साथै हरेक पालिकाहरुमा थुप्रै उद्यमीहरुले आ–आफ्ना लघु उद्यमहरु संचालन गरी स्वरोजगार बन्ने अवसर पाएकाछन । स्थानीय तहहरुले नेपाल सरकारले लिएको लक्ष्य र नीति गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रको मोडेल अनुसार कार्य सम्पादन गर्छन वा गर्दैनन ? त्यो भने हेर्न बाँकी नै छ ।

रातोआवाजबाट