☰ open Loading... 18 April 2024|  

नाविस्थानको महिमा
  | २१ असार २०७५, बिहीबार १५:०१

 दैलेख । नाविस्थान अर्थात नावि खसेको स्थान भनेर बुझ्ने गरिन्छ । श्री स्वस्थानी वत्तकथा उल्लेख भएअनुसार सत्ययुगमा महादेवकी पत्नी सत्तिदेवीको मृत्युपछि महादेवले सतिदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतिदेवीको नावी खसेको स्थान भएकाले नाविस्थान रहदै आएको किम्वदंती छ । त्यही नावी खसेकाले गरिमा बढेको छ ।

महादेव रिसले ज्वाला भएकाले यहाँ ज्वाला बनेको पनि भनाई छ । नाविस्थानका मन्दिर र खोलाको पानी माथि पनि ज्वाला बलेको देख्न सकिन्छ । नाविस्थानमात्रै नभई पंचकोशी तिर्थभित्र रहेका पाँच स्थानहरुमा हडी पतन भई ढुगेश्वर, कोख पतन भई कोटिला, शिर पतन भई श्रीस्थान, नावि पतन भई नाविस्थान, पाऊ पतन भई पादुका, र बाँकी अंस पतन भई धुलेश्वर सक्ती पिठहरु रहन गएको उल्लेख छ ।

यहाँ आएर पुजा आजा गरेमा जिवनमा गरेका सवै पापहरु नष्ट हुने र सोचेको कुरा पुरा हुने मान्यता रहि आएको दुल्लुनगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए । पर्यटन गुरुयोजना बनाएर नगरपालिकाले नेपाल र भारतका भक्तजनहरुलाई पवित्र पुण्य भुमी पंचकोशीमा आर्कषण गर्ने प्रमुख भण्डारीले बताए ।

श्रीस्थानमा जस्तै नाविस्थानमा पनी ईन्द्र ज्वाला र बडी ज्वालाका नामले दुईवटा ज्वालाहरु अहोरात्र बलिरहेको देखिन्छ । यहाँ कालभैरबको मन्दिर छ जसलाई पुजा गर्ने दिन पुजारीले बाहेक अरु कसैले हेर्न नहुने भन्ने मान्यता रहेको छ । नाविस्थानमा रहेको पाच सय वर्षअघिको पुरानो स्वामिको रुख रहेको छ । त्यही स्वामीको रुखले नाविस्थानको बातावरण नै मनमोहक बनाएको छ । स्वामीकै बोटभित्र जडाहरुमा गणेश भगवानको प्रतिविम्व झल्कने स्वरुप रहेको छ । नेपालको दुर्लभ मानिने रुद्राक्षको बुटा समेत नाविस्थानमै रहेको छ ।

नेपाल भ्रमणमा हिडेका योगी नरहरिनाथले नाविस्थानमा कोठीहोम गरि दैलेखमा रहेका ऐतिहाँसिक, पुरातात्विक सिलालेख, अग्निकुण्ड, छिपेका मुलहरु र लुकेका मुर्तिहरुको समेत उत्खनन् गरेको पाईन्छ । नाविस्थानमा पनी श्रीस्थानमा जस्तै गाधीघर छ । दुल्लुका राजा भक्तबहादुर शाहले १७ सय ९४ मा चढाएको घष्ट लगायतका सामाग्रीहरु अँझै देख्न सकिन्छ । यहाँपनी गुठिबाटै पुजारी र महन्तले पुजाआजा चलाउँदै आएका छन् ।