☰ open Loading... 26 December 2024|  

अनशनमा बसेका विद्यार्थीको अवस्था गम्भीर, विश्वविद्यालय प्रशासन भने माैन
  | २२ असार २०७५, शुक्रबार १८:४३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आमरण अनसनमा बसेका विद्यार्थीकहरुको अवस्था नाजुक बनेको छ । गत बुधबारदेखी अनशनमा बसेका विद्यार्थीहरुमा शुक्रबार विहान प्रेसर बढेर बेहोस भएपछि देउती नर्सिङ्ग होमको आइसियूमा राखिएको हो ।


इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनु पर्ने भन्दै विद्यार्थीहरु आमरण अनशनमा बसेका थिए । अनशनमा बसेका रोशन बस्नेतको अवस्था गम्भीर बनेपछि आइसीयूमा राखेर उपचार भइरहेको छ । आइसियूमा भर्ना भएका बस्नेतको अवस्था सामान्य बन्दै गएको छ ।

तर विश्वविद्यालयको परिसरमा आमरण अनशनमा बसेका विद्यार्थी रत्न शर्माको अवस्था गम्भीर रहेको देउती अस्पताल प्रा.लि.का डा. महेशकुमार खनालले जानकारी दिए । ‘आइसियूमा राखेका बस्नेत जीको अवस्था नर्मल हुँदै गएको छ, विश्वविद्यालय परिसरमा रहेका मिलन विसीभन्दा शर्माको अवस्था अलि नाजुक छ’ डा. खनालले भने, ‘उहाँहरुले लगातार यसरी नै अनशनमा बस्नु भयो भने स्वास्थ्य अवस्था थप जटिल बन्न सक्छ ।’ यी दुई विद्यार्थीको उपचारमा डा. खनाल संलग्न छन् ।

विद्यार्थीकाे जीवन रक्षामा गम्भीर हुन अाग्रह

सुर्खेतस्थित अधिकारकर्मीहरुले विद्यार्थीहरुको जीवन रक्षाका लागि विश्वविद्यालयमा गम्भीर हुन अपिल गरेका छन् । उच्च अदालत बार एशोसियशन, जिल्ला अदालत बार एशोसियशन, मानवअधिकार संगठन र इन्सके सुर्खेतले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले उठाएका जायज माग सम्बोधन गरेर अनशन तोडाउन एमयूलाई आग्रह गरेका हुन् ।

शैक्षिक माग राखी आन्दोलनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ’ जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘आमरण अनशनरत विद्यार्थीहरुको आन्दोलनबाट आउन सक्ने सम्भावित परिणामलाई रोक्न यथाशिघ्र वाताए र सम्बादका माध्यमबाट समाधान खोजी अनशनरत विद्यार्थीहरुको जीवन रक्षाका लागि विश्वविद्यालय प्रशासनलाई सम्बेदनशील हुन अपिल गर्दछौं ।’

विद्यार्थी शर्माको नाडीको चाल बढेको, प्रेसर घटेको, टाउको दुख्ने, श्वास फेर्न गाह्रो भएकोजस्तो हुने, पिसाब कम हुन थालेको जस्ता समस्या देखिएको खनालले जानकारी दिए । उनलाई सामान्य औषधी चलाएको बताएका डा. खनालले समस्या कम नभए शर्मालाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने उल्लेख गरे । बस्नेतको अवस्था नाजुक भएपछि अस्पताल ल्याइएपनि शर्मा र विसीले माग पूरा नहुँदासम्म विश्वविद्यालयमै प्राण त्याग्ने भन्दै अस्पताल आउन मानेन् । अन्तत अनशन स्थलमै डा. खनाल पुगेर उनीहरुको उपचार गरेका थिए ।

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराएर छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र विषयगत दक्ष शिक्षकको व्यवस्था गरिनुपर्ने माग राख्दै इन्जिनियरिङ्ग संकायका ३ जना विद्यार्थीले आमरण अनशन शुरू गरेका थिए ।

विश्वविद्यालय प्रशासनले आमरण अनशन बसेको ३ दिन हुँदा पनि कुनै प्रतिक्रिया दिएको छैन् । मागको बारेमा अहिलेसम्म विश्वविद्यालयले केही प्रतिक्रिया नदिएको बताएका अनशनरत विद्यार्थी मिलन बिसीले पैसामाथि त विश्वविद्यालयले खेल्यो खेल्यो । हाम्रो ज्यानमाथि पनि खेल्ने षड्यन्त्र गरिरहेको दुखेसो पोखे ।

इन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीका माग पूरा नहुञ्जेल आमरण अनशन बसिरहने उनीहरुको भनाई छ । आइसीयूमा उपचारार्थ विद्यार्थी बस्नेतले ज्यान गएपनि माग पूरा नभएसम्म आमरण अनशन नरोक्ने चेतावनी दिए । हाम्रा लागि आन्दोलन नगरेको बताएका बस्नेतले विश्वविद्यालयको बेथिति हटाएर क्षमतावान जनशक्ति उत्पादन होस् भन्ने चाहनानुसार अनशनमा बसेको उल्लेख गरे ।

यस विषयमा बुझ्न खोज्दा विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र रजिष्ट्रार डा. महेन्द्र मल्लसंग सम्पर्क हुन सकेन् । विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका डिन डा. गोविन्द लामिछानेले आफ्नो तहबाट वार्ताका लागि पहली प्रयास गरेपनि असफल भएको जानकारी दिए । लामिछानेकै संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको थियो ।

तर विद्यार्थीहरुले विश्वविदालयका भिसी, रजिष्ट्रार, इन्जिनियरिङ्ग संकायका डिन र क्याम्पस प्रमुखसंग मात्रै वार्ता बस्ने अडान दोहो¥याएका थिए । डिन लामिछानेले वार्ताका लागि कुनै भिसी र रजिष्ट्रारबाट थप जानकारी नआएको जानकारी दिए ।

यता, अनशनमा बसेका विद्यार्थीको उपचार खर्च सुर्खेत च्याम्बर अफ कमर्सले व्यहोर्ने भएको छ । अनशन स्थलमा पुगेका सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मासहितको टोलीले विद्यार्थीहरुलाई सक्दो सहयोग गर्ने बताएको छ ।

विद्यार्थीको अनशनप्रति ध्यानाकर्षण भएको बताएका अध्यक्ष शर्माले विद्यार्थीका माग यथाशिघ्र सम्बोधन गर्न प्रशासनलाई आग्रह गरेका छन् । उनले अनशनमा बसेका विद्यार्थीहरुको सम्पूर्ण उपचार खर्च समेत कमर्सले व्यहोर्ने जानकारी दिए ।