☰ open Loading... 17 November 2024|  

भुक्तानी दिन नमान्दा अधिकृतको सरुवा
  | २३ असार २०७५, शनिबार १७:५०

दैलेख । ठाटीकाँध गाउँपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले भुक्तानी दिन नमान्दा सरुवा भएको आरोप लगाएका छन् । गाउँपालिका अध्यक्षले आफु अनुकुल काम नगरेको भन्दै सरुवा गरेको आरोप उनले लगाईएका हुन् ।


गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बोर्ड बैठकमै कानुन विपरितका गलत काम गर्न दवाव दिने गरेको, अनुगमन समिति नक्कली बनाएको, सवै उपभोक्ता समितिको चेक आफै राखेको, पटक पटक कामै नगरिएका उपभोक्ता समितिबाट पेश्की फिर्ता पत्र पठाएपनि नगराएको, छोराको नाममा ६२ लाख पेश्की लिएको, कानुन विपरित काम गरेको र आफुले रोक्न खोज्दा सरुवा गराएको आरोप प्रमुख प्रशासनिक अधिकृत न्यौपानको छ ।

कानुन र कार्यविधि विपरितका कामहरु गर्न मानेपछि आफ्नो सरुवा गरिएको उनको भनाई छ । उनी डेढ महिना कार्यकाल नविताउँदै विहिवार रमाना दिएर फर्किएका हुन् ।

न्यौपानेलाई कैलालीको भजीया गाउँपालिका सरुरवा गरिएको छ । गाउँपालिकै बोर्ड बैठकमा अनियमितताबारे उपाध्यक्षले आवाज उठाउँदा पक्षविपक्षमा विवाद हुने गरेको कामै नगरि रकम भुक्तानीको दवाव बढी हुने गरेको उनले गुनासो गरे ।

‘ईमान पूर्वक जाँगिर खान समेत नदिएपछि आफ्नो सरुवा भयो ।’ उनले भने, मेरो सरुवापछि मनलाग्दी भुक्तानी होस् भनेर असारमसान्त अघि नै सरुवा गरियो ।’ यता ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले काममा विभिन्न किसिमका बखेडा झिकिएकाले सरुवा भएको प्रतिक्रिया दिए ।

कार्यकारी अधिकृत दरवन्दी खाली रहेको ठाटीकाँध गाउँपालिकामा नयाँ कार्यकारी अधिकृतको डेढ महिनामै सरुवा भएर न्यौपाने मधुवन नगरपालिका बर्दियाबाट आएका थिए । ठाटीकाँध गाउँपालिकामा भएको अनियमितताका विरुद्धमा कडा भएर उभिएपछि सरुवा गरिएको बताईएको छ । उनले कामै नगरि विलभुक्तानी मिलाएर खाने समुहलाई भुक्तानी रोकेका थिए ।

गाउँपालिकालाई समृद्ध गराउन फजुल खर्च रोकेका थिए । आएको दोस्रो हप्तामा कार्यविधि विपरित दिईन लागेको ५४ वन कर्मचारीलाई १० लाख रुपैँया रोकेका थिए । उनीले गाउँपालिकाको सवै भुभाग एक हप्तामै घुमेर विकास अवस्था बुझेर काम अनुसार नै भुक्तानीको ब्यवस्था मिलाएका थिए । तर, कामै नगरि विल भुक्तानीका लागि दवाव बढिरहेको प्रमुख प्रशासकिन अधिकृत धर्मराज न्यौपाने बताउँछन् ।

कामै नगरि गाउँपालिका केही जनप्रनिनिधिहरुले आफ्ना छोराका नाममा दुईदुई वटा डोजर किनेको लगायतका विषयम आर्थिक निमावली र कार्यविधि अनुसार आफु हिडेकाले छिटै सरुवा गरिएको उनको भनाई छ ।

गाउँपालिकामा उनी सरुवा भएपछि सवै कर्मचारीहरुलाई साथ लिएर काम गरेका थिए । उनले शनिवार पनि जनताका काम गर्न कर्मचारीलाई आह्वान गरेपछि विदाको दिन, विहानदेखी साँझसम्म सेवाग्राहीको कामदेखी कर्मचारीलाई श्रमदानका लागि ७ घण्टासम्म लगेर हिडेका थिए । छोटा समयमा पनि न्यौपाने टाठीकाँधका जनताको मन जितेका थिए ।

यसअघि प्रमुख कार्यकारी अधिकृत आउन नमान्दा ठाटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकास साहलाई निमित्तको जिम्मेवारी दिईएको थियो । लामो समयपछि रिक्त रहेको प्रमुख जिम्मेवारी लिएका न्यौपानेको कामचोर केही जनप्रतिनिधिहरुकै अग्रसरतामा सरुवा गरेको स्थानीय अगुवा रक्षाबहादुर शाहीले बताए ।

‘कामै नगरि खाने परिपाटीमा पल्केका जनप्रतिनिधिहरुले डेढ महिनामै प्रमुखको सरुवा गरे ।’ अगुवा शाहीले भने, नियमकानुनमा काम गर्ने प्रमुख गएपछि अव यहाँ करोडौं अनियमितता हुने देखीन्छ ।’