☰ open Loading... 19 April 2024|  

कात्तिकभित्रै गुड्ने भो नेपालमा रेल
  | २६ असार २०७५, मंगलवार १९:०२

काठमाडौं : भारतको सहयोगमा निर्माण भइरहेको रेल मार्ग निर्माण कार्य कात्तिकभित्रै सम्पन्न हुने भएको छ । संयुक्त कार्य समूहको मंगलबार काठमाडौंमा बसेको बैठकले कात्तिकभित्रै रेल ल्याउने गरी कार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।

जयनगरदेखि विजलपुरहुँदै बर्दिबास, जोगवनीदेखि विराटनगर, जयनगरदेखि जनकपुर (कुर्था) र जोगवनीदेखि नेपाल भन्सार क्षेत्रसम्मको रेलमार्ग निर्माण कात्तिकभित्रै सम्पन्न गर्ने निर्णय भएको हो ।

समूहको तेस्रो बैठकमा रेलवेमा प्रस्तुत स्थानहरुमा भइरहेको प्रगतिको सराहना गर्दै रेल सेवा सञ्चालनका लागि आइपर्ने आवश्यकतामा व्यापक छलफल गरिएको थियो ।

भारत–नेपाल अन्तरदेशीय रेल सेवा सञ्चालनसम्बन्धी समझदारी पत्रमा छलफलका लागि बसेको बैठकको भारतका तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक (ट्राफिक यातायात) मनोजकुमार श्रीवास्तव र नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेतृत्व गरेका थिए ।

चालु चारवटै आयोजना कात्तिकभित्र सम्पन्न गर्ने समूहको मंगलबारको तेस्रो बैठकको निष्कर्ष छ । समूहले रेलसेवा सञ्चालन, समझदारी पत्रको अन्तिम स्वरुप टुंग्याउने विषयको आवश्यकता पहिचान गर्दै उक्त कार्य शिघ्र सञ्चालन गर्न पनि बैठकमा जोड दिएको थियो ।

समूहको यो बैठकभन्दा अघि भारत–नेपाल अन्तरदेशीय रेल सेवाको सञ्चालनका लागि गठित संयुक्त समितिको बैठक असार ५ देखि ६ गतेसम्म काठमाडौंमा नै भएको थियो ।

सवारी आवागमनको सहज आवतजावत, सामान ओसारपसार, दुवै देशका जनताबीच सम्बन्ध विस्तार तथा दुई देशबीच व्यापार, वाणिज्य र आर्थिक सहकार्यलाई सुदृढ गर्नका लागि भारत–नेपाल सीमामा रेलमार्ग पूर्वाधारको काम भइरहेको हो ।

यसका साथै अन्य पूर्वाधारका विकासका लागि पनि भारत र नेपाल सरकार दुवै प्रतिबद्ध रहेको पनि बैठकमा छलफल भएको थियो ।

रेल सेवा सञ्चालनले दुई देशका जनताबीचको सम्बन्ध तथा आर्थिक क्रियाकलापलाई सुदृढ गरी भारत–नेपाल सम्बन्धलाई थप नयाँ उचाई प्रदान गर्ने अपेक्षा लिइएको काठमाडौंस्थित भारतीय दूताबासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

-अन्नपूर्णबाट