☰ open Loading... 26 April 2024|  

रुकुम पश्चिमका ५५ ठाउँ विपद्को जोखिममा
  | २८ असार २०७५, बिहीबार १३:४१

`

रुकुम, जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका जोखिमपूर्ण ठाउँको पहिचान गरेको छ । सरोकारवालासँगको छलफल तथा अघिल्ला वर्षमा आएका विपद्लाई मध्यनजर गर्दै समितिले जिल्लाका ६ वटै स्थानीय तहमा विपद्को जोखिममा रहेका ठाउँको पहिचान गरेको हो ।

समितिका अनुसार जिल्लामा ५५ भन्दा धेरै ठाउँ बाढी र पहिरोको जोखिममा छन् । त्रिवेणी गाउँपालिकामा सबैभन्दा बढी विपद्को जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

जोखिम न्यूनीकरणको तयारी

विपद्को जोखिम रहेका ठाउँको पहिचान गर्नुका साथै जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम न्युनीकरणको तयारी पनि सुरु गरेको छ । प्रजिअ रेग्मीका अनुसार विपद्को बढी सम्भावना रहेका ठाउँका नागरिकलाई सचेत बनाउनेदेखि विपद् आइहालेमा उद्धार तथा राहतको व्यवस्था मिलाइएको छ । ‘हामीले अघिल्लो वर्ष आएको विपद्लाई हेरेर तथा सरोकारवालासँग छलफल गरेर सम्भावित ठाउँको पहिचान गर्नुका साथै विपद् आइहाले उद्धार तथा राहतको व्यवस्था पनि गरेका छौँ,’ उनले भने ।

विपद्को पहिचान गरी त्यसबाट बच्न सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । आफ्नो घर भएको ठाउँको भौगोलिक अवस्थालाई ध्यान दिएर सतर्क रहन नागरिकलाई आग्रह गरिएको रेग्मीले बताए ।

कुन स्थानीय तहमा कति जोखिम ?

समितिले तयार पारेको बाढी र पहिरो जान सक्ने सम्भावित ठाउँको सूचीमा त्रिवेणी गाउँपालिकाका १० वटै वडा परेका छन् । वडा–१ को बल्लेजु, २ को बाँदरपानी, ३ को हाइवाङ, ४ को पोखरी, कालीमाटी, जम्दुखारा, ५ को लाइत, ६ को झमखोला, ७ को रिठ्याङ, ८ को गरेला, ९ को बघेरी, बस्नेतसेरा र १० को सालघारी र रूपारी पहिरोको जोखिममा रहेका प्रमुख जिल्ला रेग्मीले बताए ।

त्यस्तै, सानीभेरी गाउँपालिकाको १, २, ४, ५, ६, ८ १० र ११ नं. वडा बाढी र पहिरोको जोखिममा रहेका ठहर समितिले गरेको छ । त्यस्तै आठबिसकोट नगरपालिकाको ८, १०, ११, १२, १३ र १४ नम्बर वडाका गाउँ पनि बाढी पहिरोको जोखिममा छन् । मुसिकोट नगरपालिकाको ६, ८, ९, १०, १२ नम्बर वडाका केही गाउँ पनि बाढी–पहिरोको जोखिममा रहेका प्रजिअ रेग्मीले जानकारी दिए ।