सुशील खड्का
सुर्खेत । असार सकिनै लाग्दा हराभरा पहाडको काखमा चिटिक्क कपडाले सिंगारीएको बस्ती । वारीबाट हेर्दा टालटुल गरेजस्ता देखिने झुपडी । जति नजिक पुग्यो उनीहरुको दिन चर्या आफ्नै तानको थियो । बस्तीमा को आयो किन आए कुनै उत्साह थिएन् । मात्र मतलब थियो आफ्नै कामको । खाेला किनारामा बस्दै अाएका उनीहरु खाेलामा बाढी अाउने त्रासले केही दिन अघि मात्रै अलि माथि पहाडकाे खाेचमा सरेका थिए । कोही टहरोमूनीको सुत्ने आँगन बनाउँदै थिए भने कोही साँझको अगेना तताउने दाउराको जोह गर्दै थिए ।
यो जंगलमा फिरन्ते जीवन बिताउने राउटे जातीको दैनिकी हो । दैलेखको गुराँस गाउँपालिका–८ गर्चा पाल्ते खोला किनारामा सरेका राउटी जाती साउने संक्रान्ति मनाउने चटारोमा थिए । बस्तीका अधिकाँश पुरुषहरु सिकार खेल्न जंगल हानिसकेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको अभिलेख राख्न गुराँस गाउँपालिकालाई परिचय–पत्र वितरण गर्न परिपत्र गरेको थियो ।
सोही अनुसार गुराँसले राउटे बस्तीमा पुगेर परिचय–पत्र दिन गएपनि उनीहरुको प्रतिप्रश्नले पुगेका सरकारी कर्मचारीहरुलाई खिन्न बनाइदियो । सरकारी जम्बो टोली राउटे बस्ती छिर्दा सहजै परिचय पत्र बुझीदेलान भन्ने अपेक्षा गरेको थिए । लावालस्कर लगेर गएको टोली बस्तीमा पुगेर राउटेलाई बोलाउँदा केही बेर आइदिएनन् ।
राउटेले भान्जी मानेकी राउटे प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीको आग्रहमा केही राउटे कार्यक्रम स्थलमा सहभागी भए । तैपनि उनीहरुले खुलेर परिचय पत्र लिन मानिरहेका थिएनन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले पूर्व राउटे मुखिया महिनबहादुर शाहीलाई परिचय–पत्र दिन खोजिन् । महिनबहादुर हच्किदै भने, ‘मुखिया शिकार खेल्न गएका छन् उनी जे भन्छन् त्यही अनुसार बुझौंला ।’
राउटे समुदायका मुखिया सूर्यनारायण शाही शिकार खेल्न गएकाले मुखियाको आदेशविना अरु काम गर्न मिल्दैन । तर भान्जी सत्यदेवीले परिचय–पत्र बुझ्न मामा महिनबहादुरलाई आग्रह गरिन् । महिनाबहादुरले भने मन नलाई नलगाई परिचय पत्र बुझे । ‘पैसा राख्ने त ठाउँ छैन सरकारले दिएको परिचय–पत्र लिएर के काम’ प्रश्नगर्दै महिनबहादुर भने । यत्ति बोल्न नसक्दै सहभागीले थपपछि बोल्न दिन्छौं भन्दै अन्य राउटेहरुलाई परिचय पत्र बाड्न थाले ।
प्रदेश ७ को अछाम र कर्णालीका दैलेख, सुर्खेत तथा प्रदेश ५ का दाङसम्मको जंगलमा फिरन्ते जीवन जिउँदै आएको यो समुदायलाई यसअघि नै नागरिकता दिन पहल गरेका थिए ।
तर उनीहरुले आफूहरु जंगलको राजा भएकाले जंगलमा बस्नेलाई नागरिकता दिएको कुनै अर्थ नभएको भन्दै स्वीकार गरेनन् । सरकारले लोपोन्मुख घुमन्ते राउटे जातीलाई सामाजिक सुरक्षा भत्ता दिन सहजताका लागि परिचय–पत्र दिएको हो । परिचय पत्र दिएसंगै राउटे गुराँसका स्थायी बासी भएका छन् । उनीहरु बसोबास सरेर जहाँ गएपनि गुराँस गाउँपालिकाले नै अबदेखी सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ ।
फिरन्ते जाती राउटेलाई तत्काल सामान्य जीवनयापन गर्न नसकिने भएकाले विस्तारै यस्ता गतिविधि सञ्चालन गरेर स्थायी बसोबास गराउन सकिने तर्क जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको छ ।
सरकारले नै पठाएको निर्णायनुसार राउटे बस्तीमै पुगेर परिचय–पत्र बाँडिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । राउटेलाई दिएको परिचयपत्रका आधारमा उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता हुने पनि विश्वास उनको छ ।