☰ open Loading... 20 April 2024|  

सरकारले डा. केसीलाई जबरजस्ती लिएको जुम्लाका नागरिकहरुको आरोप
  | ३ श्रावण २०७५, बिहीबार १८:१५

जुम्ला । २० दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डाक्टर गोबिन्द केसीलाई सरकारले आज प्रशासन लगाएर काठमाडौ तर्फ लिएको स्वास्थ्य कर्मीहरुले बताएका छन् । झण्डै ७ घण्टाको तनाब पछि अस्पतालमा निषेध आज्ञा जारी गरेर उनलाई नेपाली सेनाको हेलिकोप्टेरमार्फत सुर्खेततर्फ लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।


डाक्टर गोबिन्द केसीले काठमाडौ जानु भन्दा अगाडी आफ्नै तरिकाले जाने र माग पुरा नभए सम्म अनसन जारी राख्ने बताएका थिए । अस्पतालमा स्वास्थ्य कर्मीहरु घाइते भइ सकेपछि शान्तिपूर्ण आन्दोलन गर्नु पर्ने भएपनि अस्पतालमा ठुलो घटना हुन गएको भन्दै दुख व्यक्त गरेका छन् ।

आधा घण्टा अगाडी उनले आफ्नै तबरले जाने भने पनि पौने ४ बजेतिर डाक्टर केसीलाई स्वास्थ्यकर्मी सहितको टोली लिएर प्रशासन लगाएर हेलिकोप्टेर मार्फत वार्ता टोलीका संयोजक सहितको टोली पठाएको जनाईएको छ ।

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्नको लागी हेलिकोप्टेरमार्फत वार्ता टोलीका संयोजक सहित प्रदेश सरकारको टोली जुम्लामा आएर डाक्टर केसीलाई लिएको स्थानिय प्रशासनले जनाएको छ ।

डाक्टर केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उनलाई थप उपचारको लागी पठाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

आज विहान पौने १० बजे हेलिकोप्टेर जुम्लामा आएको भएपनि झण्डै ७ घण्टा सम्म स्वास्थ्य कर्मी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र नागरिक समाजका अगुवा र डाक्टर केसीको समर्थनमा आन्दोलित भएका हरुले डाक्टर केसीलाई भेट्न दिएका थिएनन् ।

डाक्टर केसीलाइ जबजस्ती लिन आएको भन्दै उनिहरुले अस्पतालको तेस्रो तला बाहिर पट्टी ताला लगाएर बसेका थिए । डाक्टर केसीलाइ नेपाली सेनाको हेलिकोप्टेर मार्फत भगवती दल गणमा लिने क्रममा एम्बुलेन्स, स्वास्थ्य कार्यालयको गाडीमा समेत क्षति पुगेको छ ।

स्थानिय प्रशासनको निर्देशनमा प्रहरीले जबजस्ती डाक्टर केसीलाई लिन खोज्दा विद्यार्थी र स्वास्थ्य कर्मीहरु बिच दोहोरो झडप सिर्जना भएको अधिकारीहरुले बताएका छन् ।

झडपमा परेर त्यहाँ अध्ययनरत एचए र स्टाफ नर्स तथा स्वास्थ्य कर्मीहरु गरेर झण्डै १० जना घाइते भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । विहान ११ बजेतिर अस्पतालमा तनाब सिर्जना भएको थियो ।

अस्पतलको ढोका तोडफोड हुनुका साथै अस्पतालका बेडहरु भाँचिएका छन् । कुर्चीहरु भाँचिनुका साथै फलामे ढोका समेत तोडफोड भएर अस्पतालका सिसा समेत फुटेको जनाईएको छ । अस्पताल भित्र झण्डै आधा घण्टा जति दोहोरो भिडन्त हुँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेपछि विरामीहरुलाई समस्या भएको डाक्टर पुजन रोकायाले बताए ।

प्रहरी पक्षका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान कमल आचार्य घाइते भएको प्रहरी खायब उपरिक्षक तपन कुमार दाहालले बताए । उनले भने उनको छातीमा सिसाले चोट लागेको हुनाले गम्भीर अवस्था रहेको अपस्थालले जानकारी दिएको छ । रगत दिएर उनको होस आएपनि गम्भीर चोट लागेको उनले जानकारी दिए ।

वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बराल, स्वास्थ्य विभागका महानिर्देशक डाक्टर गुणराज लोहोनी सहित कर्णाली प्रदेशका मूख्य मन्त्री महेन्द्र बहादुर शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी सहितको स्थानिय प्रशासनको टोलीले उनलाई जबजस्त लिएको नागरिकहरुले आरोप लगाएका छन् ।

अस्पताल बाहिरको दुबै गेटमा प्रर्दशन भएको थियो । सडकमा ठुलठुला ढुङ्गा राख्नुका साथै टायर बालेर विरोध प्रर्दशन गरेका थिए । डाक्टर गोबिन्द केसी जुम्लाबाट गइसकेपछि शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको प्रहरी नायब उपरिक्षक तपन कुमार दाहालले जानकारी दिए ।