☰ open Loading... 18 April 2024|  

जातीय पहिचान जोगाउन संग्रहालय
  | ८ श्रावण २०७५, मंगलवार ०८:४७

भद्रपुर, लोपोन्मुख मेचे समुदायको जातीय पहिचान झल्काउने संग्रहालयका लागि सामाजिक सहयोगबाट भवन निर्माण गरिएको छ ।

मेचीनगर नगरपालिका–११ मा मेचे समाज शिवियारी आफातले तीन कोठा भएको पक्की भवन निर्माण गरेको हो । संग्रहालयमा मेचे समुदायले प्रयोग गर्ने जातीय पोशाक दोखना, अस्कोट, गञ्जी, गम्चा, गरगहनादेखि संस्कार, कला र संस्कृति झल्किने सामग्री राख्ने तयारी भइरहेको मेचे समाज शिवियारी आफातकी जिल्ला सचिव गंगा मेचेले बताए ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानको रु २५ लाख र मेचे समुदायबाट संकलित रु पाँच लाख गरी रु ३० लाखको लागतमा संग्रहालय भवन बनाइएको हो । भवन निर्माणका लागि स्थानीय नरेन्द्र मेचे र विष्णु मेचेले एक कट्ठा चार धुर जग्गा निःशुल्क प्रदान गरेका थिए । नेपाल सरकारले लोपोन्मुख आदिवासीको रुपमा सूचीकृत गरेको मेचे समुदायको बसोबास नेपालको झापा जिल्लामा मात्र छ ।

विसं २०६८ को जनगणनाअनुसार मेचे समुदायको जनसंख्या पाँच हजार २०० रहेको छ । सरकारले यो समुदायलाई लोपोन्मुख जाति भनेर मासिकरुपमा सामाजिक सुरक्षा भत्तासमेत प्रदान गर्दै आएको छ ।

(रासस)