☰ open Loading... 18 November 2024|  

सुर्खेतमा स्थापना हुँदै प्रहरीका प्रादेशीक कार्यालय
  | ८ श्रावण २०७५, मंगलवार १०:३७

सुर्खेत । देश सात प्रदेशमा रुपान्तरण भएसंगै सरकारी संरचनाहरु समेत प्रादेशीक रुपमा स्थापना हुन थालेका छन् । कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर कायम भएसंगै प्रहरीका विभिन्न सात वटा कार्यालय सुर्खेत र जुम्लामा स्थापना गरिन लागिएको हो ।


साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको अवधारणामा बाँकेको नेपालगञ्ज रहेका प्रहरी कार्यालयहरु धमाधम सुर्खेत स्थान्तरण हुन थालेका छन् । केही नयाँ कार्यालय समेत सुर्खेत र जुम्लामा स्थापना गर्न लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतमा यसअघि नै स्थापना भइसकेका थिए ।

तर सुर्खेतको छिन्चुमा कर्णाली ट्राफिक प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी आवासिय माध्यमिक विद्यालय स्थापना हुनेछ । ट्राफिक कार्यालय कोहलपुरबाट र तालिम केन्द्र नेपालगञ्जबाट स्थान्तरण हुनेछ भने विद्यालय नयाँ स्थापना हुन लागेको हो ।

कर्णाली प्रदेश ट्राफिक कार्यालय तत्कालै सुर्खेतमा ल्याउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआईजी सुरेशविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार आवश्यक जग्गा छिन्चुमै खोजी जारी रहेकाले तत्कालिन अवस्थामा जिल्ला ट्राफिक कार्यालय सुर्खेतमै प्रदेश ट्राफिक कार्यालय स्थापना गरेर सञ्चालन गरिने छ ।

‘छिन्चुमै आवासिय विद्यालय स्थापना गर्ने केन्द्रले उल्लेख गरेपनि त्यहाँ स्थापना गरे व्यवहारिक हुँदैन की भन्ने हेतुले वीरेन्द्रनगरमै जग्गा खोजी रहेका छौं । यसको निर्माण हुन केही वर्ष लाग्छ’ डिआईजी शाहले भने ।

यस्तै, प्रदेश राजधानी वीरेन्द्रनगरमा यसअघि नेपालगञ्जमा रहेको दंगा नियन्त्रण प्रहरी गण र भेरी अञ्चल प्रहरी कार्यालय संघीय प्रहरी ईकाइमा रुपान्तरण भएर स्थापना हुन लागेका छन् । ईकाइले केन्द्रीय सर्कुलरको परिपालन गर्ने र प्रदेशका प्रहरी कार्यालयमा आवश्यक दक्ष प्राविधिक जनशक्ति खटाउने भूमिका निर्वाह गर्ने एक उच्च प्रहरी अधिकारीले बताए ।

उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मातहतमा रहने प्रादेशीक प्रहरी कार्यालयले भविष्यमा कुनै ठूला घटना भएमा त्यसको अनुसन्धान गर्न आवश्यक जनशक्ति इकाइले पठाएर समन्वय गर्नेछ । वीरेन्द्रनगरमै प्रहरीको नयाँ कार्यालय कुकुर शाखा र नेपालगञ्जबाट स्थानान्तर भएर प्रहरीको व्याण्ड गुल्म स्थापना हुनेछ ।

‘संघीय संरचना अनुसार प्रादेशीक स्तरमा प्रहरीलाई आवश्यक पर्ने सवै संरचनाहरु क्रमिक रुपमा स्थापना हुन लागेका छन्’ डिआईजी शाहले थपे ।

यसअघि जुम्लामा रहेको कर्णाली अञ्चल प्रहरी कार्यालयलाई मर्ज गरेर सोही कार्यालयमा विपद् व्यवस्थापन कार्यदल राखिको छ । ५० जना प्रहरीसहितको कार्यदलको नेतृत्व इनिस्पेक्टरले गर्नेछन् । प्रादेशीक संरचनामा आउन लागेका प्रहरी कार्यालयहरु पूर्ण रुपमा सञ्चालन आउन कम्तिमा दुई वर्ष लाग्ने छ ।

प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालयलाई थप कार्यालयहरु राख्न उपयुक्त स्थानको जग्गा छनौट गर्न निर्देशनात्मक पत्र पठाएको थियो । प्रदेश प्रहरी कार्यालयले पनि ७ वटै कार्यालय कहाँ–कहाँ राख्न सकिन्छ भन्ने आवश्यक जग्गासहितको पत्र पठाइसकेको छ ।

केहीको टुंगो लागेपनि केहीको जग्गा खोज्ने काम जारी नै रहेको प्रदेश प्रहरी कार्यालयले जनायो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट विनियोजन गरिसकेको छ ।

मन्त्रालयले हतारमा काम गर्नुभन्दा पनि दिर्घकालिनहालसम्म प्रदेशका तीन जिल्लामा थप ‘क’ वर्गका नयाँ इलाका प्रहरी कार्यालयहरु स्थापना गरिएको छ ।

सुर्खेतको लेकवेशी नगरपालिका, कालिकोटको पाँचलझरना गाउँपालिका र सल्यानको दार्मामा ईलाका प्रहरी कार्यालय स्थापना गरिएको हो । यी तीन कार्यालयमा क्रमश ४५, ४०÷४० प्रहरी दरवन्दी छ । हाल तीनै ठाउँमा १५÷१५ जनाको टोली खटाइएको छ ।