☰ open Loading... 18 November 2024|  

संसदमा कानुन मन्त्रीले दिए जवाफ ‘अनावश्यक हर्कतले जुम्लामा घटना भयो’
  | १५ श्रावण २०७५, मंगलवार २१:११

सुर्खेत । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत साउन ३ गते भएको घटना अनावश्यक हर्कतकै कारण भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताएका छन् । आन्दोलनकारीको नाममा अनावश्यक हर्कत देखाइएको कारण त्यस्तो घटना अस्पतालमा हुन गएको संसद बैठकमा भण्डारीले जानकारी गराएका हुन् ।

‘हामीले सबै पक्षसँग शान्तिपूर्ण रुपमा समाधान खोज्न भन्दै कुराकानी गरेका थियौं’ उनले भने, ‘तर त्यहाँ जाँदा हामीलाई भित्रै जान दिइएन ।’ अस्पतालमा भएको क्षतिले आफूलाई दुखित तुल्याएको भण्डारीले उल्लेख गरे ।

‘अस्पताल जन्माउनको लागि उतिबेला म कठघरामा उभिएको थिएँ, आज त्यहि अस्पताल तोडिएको बारेमा यहाँहरुलाई जवाफ दिन कठघरामा उभिएको छु ।’ उनले भने, ‘कुनैपनि जन्मदातालाई तिमीले आफ्ना छोरा छोरी भेटन पाउदैनौं भनेर रोक लगाए जसरी हामी माथि व्यवहार भयो । असाध्यै दुखी भएको छु ।’

मन्त्री भण्डारीले आफूहरुले नचाहँदा नचाहँदै पनि जुम्लामा उक्त घटना घटेको बताउँदै उच्छृंखल समूहले डा. केसी चढेको एम्बुलेन्स माथि ढुगां प्रहार गर्दा सिसा फुटेको, ५ ओटा गाडी तोडफोड गरिएको संसदमा जानकारी गराए ।

संसद बैठकमा सांसद अमृता शाहीले कञ्चनपुरको भीमदत्त नगरमा बालिका बलात्कार भएको र उनले न्याय पाउन नसकेको बताइन । ‘यो देशमा कानूनी राज छ की छैन ? किन बलात्कारीहरुलाई प्रहरीले कारवाही गर्न सक्दैन ? कि कानून नै कमजोर छ ।’ आझोशित हुँदै शाहीले उक्त घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरिन ।

उनले नेपालमा जति सरकार आँछन उती नै मुल्य वृद्धि भइरहेको बताउँदै मूल्य वृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिन । अर्की सांसद कौशिलावती खत्रीले जाजरकोटको जुनीचाँदे वडा नं. ३ मा बसोबास गर्दै आएका भक्त बहादुर बुढाको घरलाई बाढीले बगाएको र उनले श्रीमती र नातीनी गुमाउन बाध्य भएको बताईन ।

‘दुइ जनाो ज्यान गएको छ, उनीहरुको घर बगेको छ, अझै भक्त बहादुर बुढा र उनका दुइ नातीनीले जाजरकोट अस्पतालमा उपचार गराईरहेका छन् ।’ उनले भनिन, ‘उनीहरुलाई सरकारले घर बनाउने रकम देओस, उनीहरुको उपचार खर्च व्यहोरिदेओस ।’

मंगलबारको संसद वैठकमा कर्णाली प्रदेश सभा सचिवालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैदान्तिक छलफल सम्पन्न भएको छ । छलफलमा सांसदहरु गुलाबजंग शाह, अमर थापा, सीता नेपाली र धर्मराज रेग्मीले भाग लिएका थिए ।

उनीहरुले सचिवको उमेर, सेवा सुविधा स्पष्ट पार्न सरकारलाई सुझाव दिएका थिए । सैदान्तिक छलफल भएपछि सभामुख राजबहादुर शाहीले संशोधन हाल्नको लागि ७२ घण्टे समय दिएका छन् । संसदको अर्को वैठक आगामी शुक्रबार विहान ११ बजे बस्नेछ ।