☰ open Loading... 17 November 2024|  

वीरेन्द्रनगर अाैद्याेगिक क्षेत्रकाे दुरुपयाेग : सरकारी जग्गा अावासका रुपमा प्रयाेग
  | १६ श्रावण २०७५, बुधबार १०:२२

सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र रहेको सरकारी स्वामित्वको जग्गालाई स्थानीय उद्योगपतिहरूले निजी आवासका रूपमा प्रयोग गर्न थालेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग औद्योगिक प्रयोजनका लागि लिजमा लिएको जग्गालाई उद्योगपतिहरूले दुरुपयोग गरेका हुन् । औद्योगिक क्षेत्रका २८ वटा उद्योगमध्ये १४ वटा उद्योगमा सञ्चालकहरूको बसोबास रहेको पाइएको छ ।

उद्योगीहरूले औद्योगिक क्षेत्रभित्रै मकै रोप्ने, बाख्रा, कुखुरा पाल्नेजस्ता कार्य पनि गर्दै आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको टोलीले औद्योगिक क्षेत्रमा गरेको अनुगमनमा यस्तो देखिएको हो ।

१४ उद्योगपतिहरूले निजी आवासको रूपमा औद्योगिक क्षेत्रको जग्गा प्रयोग गरेको पाइएपछि सो स्थान छाड्न ३५ दिने सूचना जारी गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय काठमाडाैँका अध्यक्ष एवं महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए ।

सो अवधिभित्र पनि उनीहरूले नसरेमा उद्योगीहरूसँग भएको सम्झौता नै खारेज गर्ने उनको भनाइ छ । उनका अनुसार राति सञ्चालन हुने उद्योगका कर्मचारीबाहेक अन्य व्यक्तिले अरू आवासका रूपमा औद्योगिक क्षेत्र प्रयोग गर्न पाउँदैनन् ।

वीरेन्द्रनगर उद्योग संघका अध्यक्ष कलाधर उपाध्यायले बाहिरभन्दा सुरक्षित भएका कारण औद्योगिक क्षेत्रभित्र बस्न बाध्य भएकोे बताए ।

त्यस्तै, नियमित विद्युत् आपूर्ति नहुँदा राति पनि पनि काम गर्नुपर्ने भएकाले उद्योगमा बस्नु बाध्यता भएको उनको जिकिर छ । तर, सम्झौताविपरीत निजी आवासका रूपमा प्रयोग गर्नेहरूलाई तत्काल हट्न निर्देशन दिएको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले बताए ।

२८ मध्ये २२ उद्योग सञ्चालनमा
वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र २८ वटा उद्योग रहे पनि अहिले २२ वटा मात्रै सञ्चालनमा छन् । ९० रोपनी क्षेत्रफल रहेको औद्योगिक क्षेत्रमा ९ वटा काष्ठ उद्योग, ३ वटा खाद्य उद्योग तथा इन्जिनियरिङ आधारित ३, शुद्ध पिउने पानीको १ र पोल्ट्री फर्म तथा फिडस उद्योग ५ वटा रहेका छन् ।

त्यस्तै, डेरी उद्योग, चिउरी घिउ उत्पादन, कोल्ड स्टोर, छापाखाना र प्लास्टिक दाना उत्पादन उद्योग रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले बताए । नयाँ पत्रिका दैनिकबाट