सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गरेका ४ जना शहिदहरुको सम्झनामा याम बिसी स्मृति प्रतिष्ठानले अस्पताललाई सामग्रीहरु हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष एवम् शहिद यामबहादुर विसीका बुवा शेरबहादुर बुढाले अस्पताललाई १२ थान बेडसिट (तन्दा) र २ वटा बाल्टीन हस्तान्तरण गरेका छन् । क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्काले आन्दोलनको राजनीतिक श्रेय लिन खोज्नेहरुका कारण आन्दोलनमा सर्वसाधारणले ज्यान गुमाउनु परेकोमा आफू दुःखी भएको बताए ।
उनले शोकलाई शक्तिका रुपमा परिणत गर्दै शहिद परिवारले अस्पतालप्रति गरेको सहयोगले ठूलो सहयोग मिलेको डा. खड्काको भनाई थियो ।
याम बिसी स्मृति प्रतिष्ठानले गरेको सहयोग बराबर नै आफूले पनि व्यक्तगत रुपमा अस्पताललाई प्रदान गर्ने प्रतिवद्धता समेत गर्नुभएका डा. खड्काले कर्णालीको राजधानी सुर्खेतमा रहेको अस्पताललाई सबैको साथ र सहयोगले अझैँ परिस्कृत गर्दै लैजान सकिने बताए ।
साउन १९ गतेदेखि २५ गतेसम्म शहिदहरुको सम्झनामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमहरु गरिरहेको छ । यसैबिच, सोमबार शहिदहरुकै सम्झनामा देउती बज्यै सामुदायिक वनको चारकुनेमा बृक्षारोपण गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा इलाका वन कार्यालयले उपलब्ध गराएका बकाइनो, बेल, खयर लगायतका १ सय ५० भन्दा बढी विरुवाहरु वृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले तत्कालिन समयमा भएको आन्दोलनमा चार जना सपुतहरुले दिएको बलिदानीका कारण आज कर्णाली प्रदेश भएको बताइन् ।
उनले शहिद परिवारले शोकलाई शक्तिमा बदलेर रचनात्मक कार्यहरु गर्नु भनेको कर्णाली प्रदेशलाई समृद्धितर्फ लैजाने शुरुवाती भएको उनको भनाइ थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्मा, देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपा शर्माको उपस्थिति थियो ।