कालिकोट : शुभकालिका गाउँपालिका–६ हाउडीगाउँमा पहिरो जोखिम बढेपछि स्थानीय पाल टाँगेर खुला चौरमा बस्न थालेका छन् । गाउँमाथिको पहिरो निरन्तर खस्न थालेपछि हाउडी गाउँमा १७६ दलित परिवार पाल टागेर गाउँ नजिकैको खुला चौरमा बस्न थालेका हुन् ।
गाउँमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि राति कति बेला पहिरोमा पुरिने हौं भन्ने चिन्ता लाग्ने गरेकाले चौरमा पाल टाँगेर बस्न थालेको स्थानीय बलबहादुर बिकले बताए । ‘रात–दिन घरमाथिबाट पहिरो खसिरहन्छ,’ उनले भने, ‘कति बेला मरिने हो भन्ने डर लागेर चौरमा बस्न थालेका छौं।’ विस्थापित परिवार निम्न आयस्रोत भएकाले खानबस्ने समस्या रहेको स्थानीय नरपति बिकले बताए ।
‘हामी खुला चौरमा बसेका छौं,’ उनले भने, ‘खानेकुराको समस्या छ।’ पानी पर्न साथ वस्तीको माथिल्लो भागबाट निरन्तर पहिरो खसिरहेकाले गाउँपालिकाले सुरक्षित स्थानमा राखेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए ।
‘अहिले अस्थायी रुपमा सुरक्षित बस्नका पाल सहयोग गरेर चौरमा राखेका छौं,’ उनले भने, ‘यो समस्याको दीर्घकालीन सामाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरेका छौं ।’
पहिरोका जोखिममा रहेको नागरिकलाई तत्कालका लागि त्रिपाल, मेट्रिस र केही खाद्यान्न तथा लुगाफाटोको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष चौलागाईले बताए । २०७२ भदौमा पहिरोमा परी यस गाउँका २४ घरमा क्षति पुग्नुका साथै २७ परिवारको खेतीयोग्य जमिन पुरिएको थियो ।