सुशील खड्का
सुर्खेत । सामान्य जीवन बिताउन कसैलाई रहर त हुँदैन । तैपिन सामान्य जीवनदेखी अलि माथि सुखको जीवन जिउने सपना सबैमा हुन्छ । चिनियाँ भनाई छ ‘मोती समुद्रको किनारमा भेटिदैनन्, मोती टिप्नु छ भने समुद्र भित्रै डुब्नु पर्छ ।’
याे भनार्इ पनि आत्मसाथ गर्ने साहश कमैमा हुन्छ । यद्यपी सुर्खेतको वीरेन्द्रनगर इत्राममा २०२२ साल पुस १२ गते जन्मिएका खगेन्द्र थापा मोती खोज्न समुद्रको किनारामा हैन्, समुद्रमै डुबुल्की मारेर नर्सिङका कुशल सञ्चालक बनेका छन् ।
बालापन
ईत्राममै जन्मिएका थापा बाल्यकालमा निकै संघर्षशील जीवन जिए । घरको जेठो छोरो राम्रो पढेर देशमा नाम कमाएको हेर्ने रहर बुवा–आमामा पनि थियो । तर भनेजति सम्पत्ती थिएन् ।
जेनतेन गुजरा चलाएर जीविका चलाइरहेको थापा परिवारले खगेन्द्रको सपना पूरा गर्न सकसै थियो । खगेन्द्रले पनि बुवा आमाको ईज्जतमा दाग लाग्न नदिन घरको जिम्मेवारी पूरा गर्न सूर्यका किरण नझुल्किदै दुध दुहुने र बजारसम्म लिएर घर गुजरा चलाउँथे ।
विहानको समय दुध बजारसम्म पु¥याउनेदेखी घर पुगेपछि भैसीलाई घाँस काटेर स्कुल हानिन्थे । तैपनि खगेन्द्रले जीन्दगीमा कहिल्यै हरेश खाएनन् । पारिवारिक अवस्था कमजाेर भयाे भन्दै संघर्षकाे मैदानबाटै सयौं अवरोध छिचोल्दै ईत्रामस्थित श्रीकृष्ण संस्कृत माध्यामिक विद्यालयबाट एसएलसी पास गरे । एसएलसी पछि मानविकी संकायमा थापाले आइएस्सीसम्मको अध्ययन पूरा गरे ।
सामान्य परिवारमा हुर्किएकाले खगेन्द्रले सपना पनि देखेनन् कि म नर्सिङ यात्रामा होमिनेछु । तर एसएलसी पछि उनले ०४२ सालमा ईत्राम र जनमाविमा पार्टटाइम टिचिङ गराए । यसैबाट आएको रकमले घरखर्च र पढाईको बाँकी यात्रा पूरा गर्न सहज गरायो ।
उनका कठिनका यात्रा अझै सकिएनन्, परिवारको कमजोर आर्थिक अवस्थाले आफूमात्रै पढेर भएन अरु भाईहरुको अध्ययन नि पूरा गर्नुथियो । चप्पलै लाउन नपाएर कतिपल गुजारेका खगेन्द्रले ति दिन सम्झदै भने, ‘जिन्दगी संघर्षको मैदान रहेछ । जेनतेन सिएमए अध्ययन गर्ने बाटो खुल्यो अन्तत पूरा गरे ।’
कर्मशील थापाले कुष्ठरोग सम्वन्धी परियोजनामा ०४३ सालमा नामपनि निकाले त्यसै क्षेत्रका लागि अध्ययन नगरेको भन्दै परियोजनामा उनले काम गर्न पाएनन् ।
नर्सिङ यात्रा
सिएमए अध्ययन पूर्व उनले टिचिङ गरिरहेका थिए । टिचिङ्गमा भविष्य बनाउने सपना उनमा थियो । तर टिचिङ्ग यात्रा सिएमए पढेकाले थापाको बाटो मोडियो । ०४६ सालमा दैलेखको नयाँ बजारमा थापा मेडिकलको जन्म दिने निर्णय लिए ।
‘पर्याप्त रकम थिएन् । अहिले जस्तो सडक सहजता पनि त थिएन्’ थापाले भने, ‘गुरु दुर्गा श्रेष्ठको प्रेरणाले भरियालाई चामल दिएर सुर्खेतदेखी औषधी बोकाएर अन्ततः दैलेखमा मेडिकल हल सञ्चालनमा ल्याउने प्रेरणा पाए । विस्तारै मेडिकलले गति लियो ।’
सरकारी क्षेत्रमा प्रवेश
दैलेखमा मेडिकल खोलेपछि थापाको सुखका पलहरु शुरु भए । सुखद् यात्राको थालनी भइरहेकै बेला २४ वर्षकै उमेरमा खगेन्द्रले बुवा गुमाए । दैलेखमा मेडिकलबाट राम्रो हुन थालेको थियो । लगत्तै उनले लोकसेवा आयोग पास गरेर सिएमएमा नाम निकाले ।
जाजरकोटको दल्ली स्वास्थ्य चौकीबाट सरकारी जागिरको थालनी गरेका थापाले मेडिकल भाइको जिम्मा लगाएर दुई वर्ष त्यही बिताए । ‘जाजरकोटपछि दैलेखको त्रिवेणी स्वास्थ्य चौकी देसीगाढेमा सरुवा भए’ थापाले विगत सम्झदै थपे, ‘दैलेख सरुवा भएपछि मेडिकलमा साँझ विहान समय दिएर दिउसो स्वास्थ्य चौकीमा पुग्थे । पसलबाट राम्रो हुन थालेपछि थप केही गर्ने प्रेरणा मिल्यो ।’
सरकारी जागिरमै रहँदा उनी ०५५ सालतिर सुर्खेत झरे । तत्कालिन जिल्ला अस्पताल सुर्खेतमा उनको दरवन्दी कायम भयो । तीन वर्ष अस्पतालमै काम गरे ।
मेडिकलमा निखरता ल्याएका थापाले ०५८ सालमा वीरेन्द्रनगरमै थापा मेडिकल हल स्थापना गरे । ०५९ सालमै नीजि क्षेत्रमा पहिलो पटक एक्सरे र एम्बुलेन्स सेवा शुरु गरेका थापाले वीरेन्द्रनगरमै मेडिकल यात्रालार्इ उचाइँमा पुर्याए । सुर्खेतमा मेडिकल सञ्चालन गरेको पाँच वर्षमै राम्रो भयाे ।
०६३ सालमा थापाले सुर्खेतमा थप सेवासहित देउती नर्सिङ होम सञ्चालनमा ल्याए । विस्तारै नर्सिङमा विशेषज्ञ सेवा शुरु भयो । यस क्षेत्रका नागरिकहरुलाई थप सेवा लिन पनि सहज भयो ।
‘मेडिकलहुँदै नर्सिङ होम स्थापना गर्दासम्म सरकारी जिम्मेवारीबाट कहिल्यै पन्छिएन्’ थापा भन्छन्, ‘दिनभर सरकारी जिम्मेवारी पूरा गर्थे साँझ, राती र विहान नर्सिङ होमलाई समय दिएर बिरामीहरुको उपचार गर्थे ।’
थापा हाल वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीको सिएमए पदमा कार्यरत छन् । नर्सिङ होमको सेवालाई विस्तार गर्दै देउती अस्पताल प्रा.लि.मा रुपान्तरण गरेर अस्पतालमा १० करोडका उपकरण जोडिसकेको सञ्चालक थापा बताउँछन् ।
अस्पतालबाट आईसियू, एनआईसियू, गुणस्तरिय ल्यावको स्थापना गरेर विशेषज्ञहरुबाट दर्जनबढी विभिन्न सेवा प्रवाह गरिरहेका छन् । थापा भन्छन्, ‘सरकारको नीति अनुसार विरामीलाई १० प्रतिशत छुट र विपन्न समुदायलाई निःशुल्क सेवा प्रवाह पनि गरिरहेको छु ।’
भोलीको योजना
कुनै समय चप्पल लाउने रकम नुहुने थापा अहिले नर्सिङका कुशल सञ्चालक बनेका छन् । उनका छोराछोरी (डा.लोकेन्द्र थापा, डा. कविता थापा र विफार्मेसी बसन्ती थापा) ले अस्पतालको जिम्मेवारी वहन गर्ने भएका छन् ।
दुई भाइ समेत गुमाएका थापाले परिवारका सबै सदस्यलाई खुसीको जिन्दगी दिएका छन् । निकट भविष्यमै वीरेन्द्रनगर उपत्यकामै मेडिकल कलेजको सञ्चालन गर्ने सोच बनाएका थापाले बजारको यो कोलाहल वातावरणभन्दा शान्त ठाउँमा यसै क्षेत्रका सन्ततीलाई मेडिकलमा अब्बल बनाउने सपना पूरा गर्ने योजनामा होमिएका छन् ।
थापा भन्छन्, ‘जिन्दगी संघर्ष हो, संघर्षविना लक्ष्यमा पुग्न सकिदैन् । तर हिम्मत हार्नु हुँदैन्, विचलित नभइ पथमा लम्के अवश्य सफल भइन्छ ।’