☰ open Loading... 20 April 2024|  

कर्णाली राजधानी वीरेन्द्रनगरका चाैक भत्काइन्छन तर बनाइदैन
  | ५ भाद्र २०७५, मंगलवार ०८:२९

सुर्खेत । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम। हालको कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका स्वर्गीय राजा वीरेन्द्र शाहको मनपर्ने ठाउँ हो । राजा वीरेन्द्रकै पालामा वीरेन्द्रनगरको गुरुयोजना तयार पारिएको थियो । यसको गुरुयोजना माधवभक्त माथेमाले तयार पारेका हुन् ।

गुरुयोजना अनुसार सडक, गल्ली, मैदानलगायतका संरचनाहरूसँगै उपत्यकाका विभिन्न स्थानहरूमा चोकहरू नक्साङ्कन गरियो। बस्ती भएको बीचमा नक्साङ्कन गरिएको चोकलाई वीरेन्द्रको शालिक राखेर वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।

राजा वीरेन्द्रको शालिकसहितको संरचनामध्ये शालिक सशस्त्र द्वन्द्वको बेला फुटाइयो । २०६२/०६३ को आन्दोलनका बेला तत्कालीन माओवादीले राजतन्त्रको अवशेष मेटाउनुपर्ने भन्दै वीरेन्द्रनगरमा रहेको उक्त शालिक फुटाए ।

त्यसपछि एक दशकभन्दा बढी समय शालिकविना नाम मात्रको वीरेन्द्रचोक र पहिले बनाइएको सामान्य संरचना रह्यो । अब त्यसलाई व्यवस्थित गर्नुपर्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाले गएको जेठमा भत्कायो । भत्काइएको तीन महिना बितिसक्दा समेत त्यसलाई व्यवस्थित गर्न अझसम्म कुनै सुरसार गरिएको छैन ।

वीरेन्द्रनगरमा रहेका चोकहरूमध्ये वीरेन्द्रनगर र मंगलगढी संरचनासहितका चोकहरू व्यवस्थित बनाउन गएको जेठमा भत्काइएको हो । भत्काइए पनि व्यवस्थित बनाउने कार्य अझसम्म शुरु नहुनु नगरपालिकाले बेवास्ता गरेको स्थानीय बताउँछन् ।

बजारको मुख्य चोकरु भत्काएर मात्र छोडिदिनुले अन्यत्रबाट आउने मानिसहरुमा नकरात्मक सन्देश जाने वीरेन्द्रचोक नजिक पसल सञ्चालन गरिरहेका खगेन्द्र आचार्यले बताए ।

‘हामी त यहाँका स्थानीय भयौँ, यहाँ हुँदै गरेका गतिविधिहरुका बारेमा बुझ्छौं ।’ व्यवसायी आचार्यले भने, ‘तर बाहिरबाट आउने मानिसहरुले महिनौँदेखि यस्तै भत्किएको चोक देखे भने गलत सम्झन्छन्, यसमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’

यता, चोकहरूलाई व्यवस्थित बनाउन भन्दै भत्काउन सुरू गरेको वीरेन्द्रनगर नगरपालिकाले भने कस्तो बनाउने भन्ने योजना बनिनसकेकाले वीरेन्द्रचोक व्यवस्थापनमा ढिलाइ भएको बताएको छ । वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले मंगलगढी चोक सडक बन्दै गरेकाले र वीरेन्द्रचोकको योजना नबनेका कारण व्यवस्थापनमा ढिलाइ भएको बताइन् ।

‘मंगलगढी चोक वरिपरि ४ लेनको सडक पर्ने भएकाले त्यो बन्दै छ, त्यसकारण त्यो बनिसकेपछि हामी काम सुरू गर्ने भनेका छौं,’ उपमेयर ढकालले भनिन्, ‘वीरेन्द्रचोक भने कस्तो बनाउने भन्ने योजना बन्दै गरेकाले केही समय लाग्छ ।’

उनका अनुसार मंगलगढी चोकको अहिलेको भन्दा आकार केही घटाएर बगैँचा र पानीको फोहोरासहितको बनाइने छ भने वीरेन्द्रचोकको आकार थोरै घटाएर संरक्षण गरिने छ। त्यसमा लाइटिङ पनि गरिने उनले जानकारी दिइन् ।

वीरेन्द्रचोकको संरचना ठूलो भएका कारण ट्राफिक असहज भएको गुनासो आए पनि त्यसको आकार घटाउनुपर्ने अवस्था आएको ढकालले बताइन्। भत्काइएको दुवै चोक यस वर्षको दसैं वा तिहारसमम बनिसक्ने उपमेयर ढकालले बताइन् ।

ती चोक रहेका वडा नं. ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलले चोकहरूलाई व्यवस्थित गर्न नगर कार्यपालिकाको निर्णय पर्खिएको बताए ।

‘मंगलगढी चोकमा अहिले भन्न सकिन्न, त्यो चौराह हो, सडक बनिसकेपछि मात्र काम गर्ने हुन्छ,’ वडा अध्यक्ष कँडेलले भने, ‘वीरेन्द्रचोकको भने कस्तो बनाउने भन्ने खालको कार्यपालिकाले निर्णय गरेमा वडाका तर्फबाट गर्नुपर्ने काम सुरू हुन्छ ।

वीरेन्द्रनगर नगरपालिकाका अनुसार यी दुई चोकलाई व्यवस्थित गर्न नगर कार्यपालिकाले केही रकम सहयोग गर्ने छ भने बाँकी ६ नं. वडा कार्यालयले आफ्नो तर्फबाट काम गर्ने छ । #सेताेपाटीबाट