☰ open Loading... 25 December 2024|  

मिस्टर भर्जिन : द्विअर्थी संवादले ‘अर्थहीन’ बनाएको फिल्म (समीक्षा)
  | ५ भाद्र २०७५, मंगलवार ०९:५८

अर्घेलो थापा

काठमाडौं, युट्युबमा टन्नै डबल मिनिङ (द्विअर्थी) का भिडियोहरु भेटिन्छन् । ती भिडियो दर्शकले हेरून् भनेर शीर्षक नै त्यस्तै द्विअर्थ बुझाउने राखिन्छन् । हलमा चलिरहेको ‘मिस्टर भर्जिन’ फिल्मभन्दा बढी तिनै द्विअर्थी लाग्ने संवादहरुको चाङ हो भन्दा फरक पर्दैन ।

सीधा अर्थमा भन्नुपर्दा ‘मिस्टर भर्जिन’ युट्युबमा छ्यापछ्याप्ती पाइने भिडियोसँग धेरथोर तुलना गर्न मिल्ने खालको फिल्म(?) हो । फरक के छ भने, यो फिल्ममा ती द्विअर्थी डायलग चर्चित कलाकारहरूलाई बोल्न लगाइएको छ ।

एक लाइनमा भन्नुपर्दा यो फिल्म डबल मिनिङले बिगारेको फिल्मजस्तो लाग्ने फिल्म मात्र हो । फिल्म नै भनेर भन्दिने हो भने यस्तो शैलीको फिल्म यसअघि बनेको थिएन शायद । नेपाली समाजमा यसले उठान गरेको विषयवस्तु केही भिन्दै छ ।

फिल्ममा खास त्यस्तो कथा केही छैन । तीन युवा ढालबहादुर (गौरव पहारी), कुमार कान्छो (कमलमणि नेपाल) र कतारबाट फर्किएका अर्का एक युवा (विजय बराल) एकदिन ठमेलमा आफ्नो यौन प्यास मेटाउन जान्छन्, सेक्स भनेपछि लजाउने तीनै पात्रलाई अर्का पात्र चुम्मनकुमार (भोलाराज सापकोटा) ले रमाइला गफ सुनाएर ठमेल जान बाध्य बनाउँछन् । चुम्मनकुमारलाई देखाउनकै लागि भए पनि उनीहरु ठमेल लाग्छन् । आफ्नो ‘भर्जिनिटी’ तोड्न खोज्ने तर लाज मान्ने तीन युवाले ठमेलमा गर्ने दौडधुप नै चलचित्रको कथा हो ।

फिल्मको मुख्य कथा तीन भर्जिन पात्रको वरिपरि घुमे पनि प्यासी मोहन (रविन्द्र झा), मोहनी देवी (सिर्जना सुब्बा), चुम्मनकुमार (भोलाराज सापकोटा), रोजी (मरिष्का पोखरेल) लाई पनि मुख्य भूमिकामै देखाइएको छ । फिल्मभरि रविन्द्र झाको ट्याक्सीजस्तै पात्र दोहोरिरहन्छन्, भेटिन्छन् । ती पात्र किन र कसरी बारम्बार ठोकिन्छन् भन्ने बुझ्नका लागि फिल्म नै हेर्नुभए हुन्छ । कथा त्यही ठमेलको छेउकुना कुदिरहन्छ ।

चलचित्रमा पात्रको अभिनय औसत छ । कुनै पनि पात्रले चित्त बुझाउने अभिनय गर्न सकेका छैनन् । यद्यपि कुमार कान्छो बनेका कमलमणि नेपालको अभिनय भने केही हदसम्म पात्र सुहाउँदो लाग्छ । विजय बरालले ‘आइ एम सो एक्साइटेड’ शैलीका थेगो भन्दा स्वभाविक र रमाइलो लाग्छ । यो बाहेक फिल्ममा गुदी नै छैन । मरिष्का पोखरेल, गौरव पहारी, भोलाराज सापकोटा, रविन्द्र झा लगायतको अभिनय मनमा बस्दैन ।

ठमेलमा मोहनी देवी उर्फ सिर्जना सुब्बालाई प्रहरीको भेषमा कार्टुन बनाइएको छ । उनी ठमेलको सुरक्षामा हैन, आफ्नो मोबाइलमा आएको ‘फेक कल’ को रातभरि निगरानीमा निस्किन्छिन् । फिल्मलाई कमेडी बनाउने निहुँमा कतिपय कुरालाई ठाडै मारिएको छ । ठमेलको चित्रण पनि यसरी गरिएको छ कि, त्यहाँ हरेक मान्छे जाग्राम छन्, जाग्राम बस्नेहरु सबै यौनकै लागि जाग्राम छन्, त्यहाँ एउटा मात्र ट्याक्सी गुड्छ । अरु गाडीसमेत छैनन् ।

फिल्मले मध्यरातको कथा भन्छ । कथा लम्बिँदै लैनचौरसम्म जान्छ । एक ट्राफिकले बेलाबेलामा चेकिङ गरिरहेका हुन्छन् । अन्तमा ती ट्राफिक आफै केटी खोज्दै हिँडिरहेका छन् ।

मान्नुपर्छ, फिल्म एक रातको कथा हो । यही कुरालाई अरुले एउटा लघु चलचित्र बनाउन सक्थे भने महेश दवाडीले यही कथा लम्बाएर फिल्मझैँ लामो बनाएका छन् । तर, यति धेरै द्विअर्थी संवाद उनले लेखेका छन् कि, साँच्चिकै यो फिल्मजस्तो लाग्दैन । ग्रेडका फिल्ममा यति धेरै द्विर्थी संवाद शायद संसारभर हुँदैन । संवादै संवादले फिल्मलाई ‘एडल्ट’ फिल्म बनाइएको छ ।

मुख बङ्ग्याएर होस् या डबल मिनिङका संवाद बोलेर होस्, फिल्ममा जबरजस्ती हँसाउन खोजिएको छ । यस अर्थले हेर्दा फिल्म कमेडी बनाउने कोशिश गरिएको छ । तर, कुनै पनि दृश्यमा लोजिक नहुँदा वास्तविक कथाजस्तो लाग्ने फिल्म साँच्चिकै वाहियात बनेको छ ।

चलचित्रको छायांकन पक्ष बरु ठीकै छ । रातको समयमै धेरै दृश्य खिचिएको यो फिल्ममा खत्रा भन्न मिल्ने सिनेम्याटिक जादु त केही देखिँदैन तर फिल्मको अन्य पाटोका तुलनामा हुँदै भएन भन्ने पनि छैन । छायांकारले जता पात्र पुग्छन्, त्यतै पुगेर कलाकारलाई फ्रेममा अटाएका छन् । त्यो बाहेकको ठमेलको रुप फिल्ममा छैन ।

बरु यसको पाश्र्वध्वनि ठीकै छ । फिल्ममा प्रयोग गरिएका गीत संगीत राम्रा छन् । ‘पैसा फेक्, तमाशा देख्’ बोलको गीतले केही हदसम्म बाँध्न सफल हुन्छ ।

फिल्ममा द्विअर्थी लाग्ने शब्द कहाँ कहाँसम्म पुर्‍याइएको छ भने, मन्दिरकी देवीलाई पनि यौनमै पुर्‍याएर जोडिएको छ, प्रसादलाई पनि जुठो बनाइएको छ । दूध, पानी, मूल, बारुलो, अरिंगाल सबैको बिम्ब ‘सेक्स’ बनाइएको छ । डायलगमा महेश दवाडीले शुरुदेखि अन्त्यसम्म दोहोरो अर्थ लाग्ने संवाद राख्न छुटाएका छैनन् । जुन पात्रले पनि उसरी नै द्विअर्थी संवाद बोल्छ ।

बोल्यो कि, बुझौँ – फिल्ममा संवाद भनेको नै डबल मिनिङ बुझाउने राखिएको छ ।

राम्रो पक्ष फिल्मको गीत हो । त्यो बाहेक सबै कुरामा फिल्म चिप्लेको छ । निर्देशक विशारद बस्नेतले निर्देशकीय क्षमता देखाउन सकेका छैनन् । उनले फिल्मको मर्म नै बुझेका छैनन् भन्दा फरक पर्दैन । संवादकै भरमा फिल्म अगाडि बढाइएको छ ।

यति मात्र होइन, फिल्ममा यति धेरै विसङगति छन् कि, लेखेर नै साध्य छैन ।

यद्यपि थिएटर र टेलिफिल्मबाट जमेका कलाकारसँगै अन्य केही कलाकारको कामचलाउ अभिनय र द्विअर्थी संवादमा हाँस्न हलसम्म जाँदा भने एकछिन फ्रेस बन्न सकिने केही ठाउँहरु फिल्ममा छन् ।