☰ open Loading... 25 February 2025|  

‘बालमैत्री स्थानीय शासन कायम गर्छौं’
  | ७ भाद्र २०७५, बिहीबार १९:०६

सुर्खेत । जनप्रतिनीधि र सांसदहरुले बालमैत्री स्थानीय शासन कायम गर्ने प्रतिवद्धता जनाएका छन् । वीरेन्द्रनगरमा आयोजित बालअधिकार, दिगो विकासका लक्ष्य, बालमैत्री स्थानीय शासन र बालबालिकामा लगानी विषयक जनप्रतिनीधिसंग अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।


भविष्यका देश हाक्ने बालबालिकाहरुको अधिकार संरक्षण गर्नमा प्रदेश र स्थानीय तहहरु गम्भीर रहेको उनीहरुको भनाई छ । अन्तरक्रियामा बोल्दै प्रदेश सांसद राजु गुईदेलले बालअधिकार मैत्री कानुन निर्माण गर्न आफू गम्भीर रहेको बताईन् ।

बाल संरक्षणविना मुलुकको विकास नहुने भन्दै उनले बालबालिकाहरुको क्षेत्रमा लगानी गर्न सम्बन्धित ठाउँहरुमा आवाज बुलन्द पार्ने उल्लेख गरिन् । बालबालिकाहरुमाथि हुने हिंसाका घटना रोक्न सबै पक्षको साथ आवश्यक रहेको पनि उनले औंल्याइन् ।

अन्तरक्रियामा बोल्दै लेकवेशी नगरपालिकाका उप–प्रमुख शान्ति छन्तेलले आफ्नो नगरपालिकामा बालमैत्री शासन लागु गर्ने प्रतिवद्धता जनाईन् । उनले बालबालिकाहरुको विकास तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु ल्याएको जानकारी दिईन् ।

तर आगामी दिनमा आवश्यक कानुन निर्माण गरेर दिगो विकास लक्ष्यलाई पूर्णता दिन बालमैत्री शासन कायम गर्नमा कुनै कसर बाँकी नराख्ने उप–प्रमुख छन्तेलले उल्लेख गरिन् ।

शुक्रबार सकिने अन्तरक्रियामा सल्यान, जाजरकोट, दैलेख र सुर्खेतका १८ जना बालबालिकाहरुको सहभागीता छ । समाज जागरण केन्द्र (स्याक) नेपालको समन्वय, सेभद चिल्ड्रेनको सहयोग तथा कन्सोर्टियम नेपालको आयोजनामा सो अन्तरक्रिया भएको हो ।

अन्तरक्रियाको उद्घाटन सत्रमा स्याक नेपालका अध्यक्ष तथा कन्सोर्टियम नेपाल कर्णाली प्रदेशका संयोजक मिना तिवारी, सेभद चिल्ड्रेनका बाल संरक्षण अधिकृत बाले विश्वकर्मा, कन्सोर्टियम नेपालका पूर्व अध्यक्ष युवराज घिमिरे, स्याक नेपालका कार्यक्रम संयोजक तेज सोनाम लगायतको उपस्थिती थियो ।