☰ open Loading... 18 November 2024|  

आँटिला सुदर्शन
  | ८ भाद्र २०७५, शुक्रबार ०९:०१

गुल्मीमा जन्मिए पनि कर्मथलो सुर्खेत बनाएका सुदर्शन श्रेष्ठ आँटिला व्यापारी हुन् । जहाँ जोखिम त्यहीँ जम्ने शाहस बोक्ने श्रेष्ठ २०२८ सालमा गुल्मीमा जन्मिए । दुई वर्ष गुल्मीमै विताए पनि जीवनका आरोह अवरोह सुर्खेतमै वेतित गरिरहेका छन् । सह–परिवार सुर्खेत आएका श्रेष्ठ सानैदेखी जोखिमकै काम गर्न रुचाउथे ।

खुलेरै आफ्ना संघर्ष साटेका सुदर्शन भन्छन्, ‘चलनचल्तीका काम त सबैले गरेकै छन् । त्यही व्यवसायलाई अलि फरक शैलीमा कसरी गर्ने र नागरिकलाई गुणस्तरिय सेवा दिनमै ध्यान दिइरहे ।

तर विचलित भएन् ।’ दशसम्म पढेका श्रेष्ठले जीवनमा थुप्रै संघर्ष गरे । कागजी शैक्षिक प्रमाणपत्र नभएपनि अध्ययनमा उनको जाँगरता ओइलाएको छैन् । उनको अचम्मको स्वभाव के छ भने उनले जहाँ हात हाले त्यहीँ तरङ्गीत परेर आफ्नो व्यवसायलाई स्थापित गरेका छन् ।

०४१ सालमा विस्तारै बस्तीको स्वरुप लिँदै गरेको वीरेन्द्रनगरमा सुर्खेतकै पहिलो चिउरा मिल र सेलर मिल स्थापना गरे । संघर्षशील बुवा आमाकै प्रेरणाले आज यो स्थानसम्म आइपुग्ने हिम्मत मिलेको श्रेष्ठ बताउँछन् ।

व्यवसाय प्रवेशसंगै उनको पढाइमा ब्रेक लाग्यो । ०४५ सालमा उनीसहितको टोलीले वीरेन्द्रनगरकै शनीहल लाइनमा सनी चलचित्र हलको स्थापना गरे । झण्डै दुई दशकसम्म शनिहलको नाम चर्चामै रह्यो ।

‘शनिहल सञ्चालन रहेकै बेला २०५४ सालमा सुर्खेतमा ट्रक समितिको स्थापना गरेका थियौं’ श्रेष्ठ भन्छन्, ‘अहिलेको जस्तो प्रविधिको विकास थिएन् । सिक्ने अवसर कहीँबाट मिलेन् । जति गरियो हेर्दै अनुभव बटुल्दै व्यवसायमा होमिरहेको थिए ।’ अहिलेको मध्यपश्चिमाञ्चल ट्रक तथा ट्याक्यार व्यवसायी समितिका श्रेष्ठ संस्थापक सचिव हुन् । देशमा सशस्त्र द्वन्द्व चल्दा उद्योगधन्दा, व्यापार व्यवसाय धराप प¥यो ।

२०५४ पछि २०६२ सम्म गरिरहेकै व्यवसायमा स्थापित बाहेक खास प्रगती श्रेष्ठले गरेनन् । द्वन्द्वको अवसानपछि श्रेष्ठले सुर्खेतमै पहिलो पटक माइक्रो गाडीहरु भित्राउने योजना बुनेका श्रेष्ठलाई स्थापित केही यातायात समितिले अवरोह गरे ।

तर हिम्मत हारेनन् । ४१ दिनसम्म यातायात व्यवस्था कार्यालयमा धर्ना दिए । अन्तत् रुटपरमिट लिएर ०६२ सालमा मध्यपश्चिम माइक्रो यातायात समितिमार्फत किया गाडीहरुबाट सेवा सुरु गरे । ६ वर्षसम्म त्यहीँ समितिमा सचिव भएर काम गरेको श्रेष्ठ बताउँछन् ।

संस्कृति ज्वैलर्सको जन्म
माइक्रो गाडीको स्थापित गरेपछि श्रेष्ठले वीरेन्द्रनगरमै पृथक व्यवसाय गर्ने योजना बुने । सुनचाँदी व्यवसाय शुरु गर्न उनले तीन वर्ष अनुसन्धान गरे । ‘पुर्खाले नगरेको व्यवसायप्रति ग्राहकहरुलाई कसरी विश्वास दिलाउने भन्ने चुनौती थियो’ श्रेष्ठ भन्छन्, ‘धेरै समय लगाएर अन्तत संस्कृती ज्वैलर्सको आरम्भ गर्ने सोच जाग्यो ।

अन्तत सुन जाँच्ने मेशीन हुन्छ भन्ने थाहा पाएपछि एक करोड १५ लाखको लागतमा मेशीन भित्राए र ०७३ सालदेखी व्यवसाय शुरु गरे ।’ सुनचाँदी पसल खोलेपछि निकै तरङ्गीत बनाएका श्रेष्ठले थुप्रै झमेला झेले । गुणस्तर प्रमाण चिन्ह पाएको सुन जाँच्ने टन्च मेशीन भित्राएकै कारण श्रेष्ठ विरुद्ध कुर्लिनेहरु आफै ठेगान लागे ।

‘फरक व्यवसाय गर्ने सोचकै कारण अहिले सुनचाँदी व्यवसायमा स्थापित भएको छु’ श्रेष्ठले भने, ‘राज्यकै नीति नियममा रहेर काम गरे । त्यसैले पनि होला सवैको माया र हौसला पाएको छु । ग्राहकहरुलाई पनि सुनचाँदीमा पूर्ण सुन्तुष्टि दिएको छु ।’

सुनमा किडिएम रसायन मिसाउने प्रवृत्ति रहेछ, सुन जाँचेर मात्रै ग्राहकलाई विक्री गरेपछि व्यवसाय सफल भएको उनको ठम्याई छ । संस्कृती ज्वैलर्सको शाखा नेपालगञ्जमा खोलेर व्यवसाय शुरु गरिसकेका छन् श्रेष्ठले । निकट भविष्यमै दैलेखमा पनि शाखा विस्तार गर्ने सोचमा रहेको उनले बताए ।

चाँदीको मात्रै छुट्टै पसल खोल्ने उनको योजना छ । हाल उनले दैनिक १९ जनालाई रोजगारी दिएका छन् । केही महिनामै संस्कृतीकै छाप लगाएर सुन बेच्न ट्रेडमार्ग लिने तयारीमा छन् ।