सुर्खेत । तत्कालिन नेकपा माओवादीले जनयुद्ध गर्दा महेन्द्रबहादुर शाही जनमुक्ति सेनामा थिए । शान्ति प्रकृयामा आएसँगै खुल्ला राजनीतिमा होमिएको माओवादीका तर्फबाट शाही उर्जा मन्त्री पनि बने ।
देश संघीयतामा गएसँगै उनी कणाली प्रदेशका मुख्यमन्त्री बनेका छन् भने उनको दल माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण भएर नेकपा बनेको छ ।
माओवादी शान्ति प्रकृयामा आएपछि देशका विभिन्न भागमा शिविरहरु राखेर माओवादी लडाकुलाई राखिएको थियो । यसैमध्येको एक हो पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका अन्र्तगत दशरथपुरमा रहेको तत्कालीन माओवादी लडाकुको शिविर ।
उक्त शिविरमा मुख्यमन्त्री भएपछि शाही पहिलो पटक पुगेका छन् । मुख्यमन्त्री शाही, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सहितको टोली लडाकुको शिविरमा पुगेका छन् ।
मुख्यमन्त्री शाहीले तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएको बेला करिब २ वर्ष उक्त व्यारेकको नेतृत्व गरेर विताएका थिए ।
आइतबार विहानै मुख्यमन्त्री शाही दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्रमा अत्याधुनिक नर्सरी स्थापना गर्ने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना अनुरुप मुख्यमन्त्रीसहितको टोली त्यहाँ पुगेको थियो । मुख्यमन्त्री शाही सेना समायोजन पछि पहिलोपटक दशरथपुर पुगेका हुन् ।
‘यहाँको माटोसँग इतिहास जोडिएको छ’ उनले भने, ‘यो इतिहासको संरक्षण गर्न जरुरी रहेको छ ।’ उनले आफूले नेतृत्व गरेका बेला विदेशी विद्यार्थीहरुले लडाकुबारे अनुसन्धान गरेको बताउँदै यहाँ रहेका सबै संरचनाहरुलाई संरक्षण गर्ने बताए । ‘विदेशीले समेत अनुसन्धान गरी शिक्षा प्राप्त गरेका छन्’ उनले भने, ‘यसलाई पर्यटकीय गन्तब्यको रुपमा चिनाउन जरुरी छ ।’
मन्त्री केसीले व्यारेकहरु खण्डहरमा परिणत भएको बताउँदै सरकारले यसको संरक्षण गर्ने बताईन् । ‘हरेक संरचना करिब करिब खण्डहर भएका छन्’ उनले भनिन, ‘गर्विलो त्यो इतिहासलाई बचाउनु प्रदेश सरकारको दायित्व हो र हामी त्यसका लागि आवश्यक कार्य गर्न तयार छौं ।’