☰ open Loading... 26 April 2024|  

निरुताको कमब्याक कति दमदार ?
  | १० भाद्र २०७५, आईतवार १७:०५

दशक अगाडिकी निर्विकल्प अभिनेत्री हुन् निरुता सिंह । सय बढी फिल्ममा अभिनय गरिसकेकी उनको खातामा हिट देखि फ्लप फिल्म सम्मको संख्या प्रशस्तै छ । विस्तारै नेपाली फिल्ममा नयाँ पुस्ताको आगमनसँगै उनी पर्दाबाट हराउँदै गइन् ।

लामो समयदेखि उनी मुम्बईमा बस्दै आइरहेकी छन् । वर्षौसम्म पर्दामा नदेखिँदा अभिनयकी खानी निरुतालाई नेपाली दर्शकले ‘मिस’ नगर्ने त कुरै थिएन । अन्ततः दशकपछि उनको नेपाली फिल्ममा कमब्याक भएको छ ।

हाल उनको कमब्याक फिल्म ‘नाईं नभन्नू ल ५’ प्रदर्शनरत छ । यस वर्ष एनएफडिसी अवार्डमा सहभागी हुन नेपाल आएको समयमा उनले यो फिल्म साइन गरेकी थिइन् । पटक-पटक राम्रो भूमिका भेटे फिल्ममा काम गर्ने बताएकी उनको उक्त फिल्ममा गेस्ट अपिरियन्स छ ।

बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिका निर्वाहा गरेकी उनको फिल्ममा थोरै सिन छ तर यादगार छ । वर्षौपछि दर्शकले ‘दर्पण छायाँ’ जोडीलाई एउटै फ्रेममा भेट्नेछन् । अर्थात्, फिल्ममा दीलिप रायमाझी र निरुता सिंह बिहे गर्ने तयारीमा हुन्छन् ।

‘नाइँ नभन्नू ल-५’ ले निरुताको ईन्ट्रीसँगै आफ्नो गति समातेको छ । अनुभवसँग फोनमा कुरा गर्दा उनको एक इमोसनल सिनले फिल्ममा प्राण भरेको छ । दर्शकले उनको भूमिकामा खोट लगाउने ठाउँ पाउँदैनन् । थोरै सिन भएपनि उनको अभिनय वजनदार छ ।

शुक्रवारबाट प्रदर्शनमा आएको उक्त फिल्मले घरेलू बजारमा गरेको आक्रामक कलेक्सनले पनि निरुताको कमब्याकलाई थप विशेष बनाएका छ । फिल्मले प्रदर्शनको दुई दिनमा नै करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार आक्रामक थियो ।

लगातार परेको सार्वजनिक विदाले पनि ‘नाइँ नभन्नू ल-५’ ले पहिलो हप्ताबाटै लगानी सुरक्षित गरेर नाफाको बाटोमा दौडिने संकेत देखाएको छ । फिल्म हेर्ने दर्शकले लोकेसन, छायांकन र कलाकारको अभिनयलाई औधि रुचाएका छन् ।

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नू ल-५’ मा अनुभव, दीलिप र निरुताका अलावा केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ । यस फिल्मबाट बाल-कलाकारमा सेड्रिना शर्मा र नव-अभिनेतामा अभिषेक नेपालले डेब्यु गरेका छन् ।