सुर्खेत । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम हो वीरेन्द्रनगर । अनि अहिलेको प्रदेश राजधानी । प्रदेश राजधानी भन्ने बित्तिकै सबैको नजरमा विकसित शहर भन्ने नै हुन्छ ।
तर, यहाँ भने २०६२/०६३ सालको जनआन्दोलनताका भत्काइएका शालिक अझै जस्ताको तस्तै छन् । केही महिना पहिले नगरपालिकाले नयाँ बनाउन भन्दै चोकमा डोजर चलायो । तर, काम भएन । अहिले त्यहाँ भग्नावशेष मात्र देखिन्छ ।
त्यसपछि १ दशकभन्दा बढी समय शालिक विना नाम मात्रको ‘वीरेन्द्र चोक’ र पहिले बनाइएको सामान्य संरचना रह्यो । अब त्यसलाई व्यवस्थित गर्नुपर्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाले गएको जेठमा भत्कायो । भत्काइएको ३ महिना बितिसक्दा समेत त्यसलाई व्यवस्थित गर्न अझैसम्म कुनै सुरसार गरिएको छैन ।
वीरेन्द्रनगरका चोकमध्ये वीरेन्द्रनगर र मंगलगढी संरचना सहितका चोक हुन् । व्यवस्थित बनाउन गएको जेठमा यी दुवै चोकलाई भत्काइएको हो । भत्काइएपनि व्यवस्थित बनाउने कार्य अझैसम्म शुरू नहुनु नगरपालिकाको गैरजिम्मेवारीपन रहेको स्थानीयको भनाई छ ।
‘बजारको मुख्य चोक भत्काएर मात्र छोडिदिनुले अन्यत्रबाट आउने मानिसमा नकारात्मक सन्देश जाने पक्का छ,’ वीरेन्द्र चोक नजिक पसल सञ्चालन गरिरहेका खगेन्द्र आचार्यले भने, ‘हामी त यहाँका स्थानीय भयौं, यहाँ हुँदै गरेका गतिविधिका बारेमा बुझ्छौं । तत्काल नगरपालिकाले उक्त कार्य सम्पन्न गर्नुपर्ने मैले देखेको छु ।’
वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले चोकलाई कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताइन् । तर, अहिले पनि योजना तयारीकै चरणमा रहेकाले काम गर्न ढिलाइ भएको उनको भनाई छ ।
‘मंगलगढी चोक सडक बन्दै गरेकाले र वीरेन्द्र चोकको योजना नबनेका कारण व्यवस्थापनमा ढिलाइ भएको हो,’ उनले भनिन्, ‘मंगलगढी चोक वरिपरि ४ लेनको सडक पर्ने भएकाले त्यो बन्दै छ, त्यसकारण त्यो बनिसकेपछि हामी काम शुरू गर्ने भनेका छौं ।’
उपमेयर ढकालले भनिन्, ‘वीरेन्द्र चोक भने कस्तो बनाउने भन्ने योजना बन्दै गरेकाले केही समय लाग्छ ।’ उनका अनुसार मंगलगढी चोकको अहिलेको भन्दा आकार केही घटाएर बगैंचा र पानीको फोहोरा सहितको बनाइने छ भने वीरेन्द्र चोकको आकार थोरै घटाएर संरक्षण गरिने छ । त्यसमा लाइटिङ्ग पनि गरिने उनले जानकारी दिइन् ।
‘वीरेन्द्र चोकको संरचना ठूलो भएका कारण ट्राफिक असहज भएको गुनासो आएकाले हामीले चोकको साइज घटाउने भएका हौं,’ लोकान्तरसँग कुरा गर्दै उनले भनिन्, ‘भत्काइएको दुवै चोक यस वर्षको दशैं वा तिहारसम्म बनाइसक्छौं ।’ #लाेकान्तर