☰ open Loading... 20 April 2024|  

‘भेरीगंगा’मा तोकियो सडकको मापदण्ड
  | १२ भाद्र २०७५, मंगलवार ०७:२५

सुशील खड्का
छिन्चु (सुर्खेत)  : कर्णाली प्रदेश राजधानीको वीरेन्द्रनगर प्रवेश गर्ने दक्षिणको नाका भेरीगंगा नगरपालिकालाई सडकमा अब्बल बनाउन लागिएको छ । स्मार्ट सिटीको अवधारणा अघि सारिएको भेरीगंगा भित्रका सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउने रणनीतिमा नगरपालिका जुटेको हो ।


बस्ती विकास भएपछि सडक निर्माणमा बाधक हुनसक्ने भन्दै नगरपालिकाले भुगोलका आधारमा सडकको मापदण्ड तोकेको छ । साविकको लेखपराजुल गाविस भौगोलिक रुपमा विकट बस्ती हो । त्यहाँका अधिकाँश स्थानहरुमा सडक सञ्जान पुगेको छैन् ।

तर नगरपालिकाले भने भौगोलिक रुपमा बस्तीको मापदण्डको तयार गरेर सडक निर्माणको थालनी गरेको छ । समथर ठाउँमा १२ मिटर, पहिला नै बस्ती भएका ठाउँमा अनिवार्य ८ मिटर र पहाडी क्षेत्रमा ६ मिटरका सडक निर्माण गर्ने निर्णय भएको भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

‘बस्ती विकासको क्रममा रहेको नगरपालिका भित्रका सबै ठाउँमा पहिला नै सडकको मापदण्ड तोक्नु परेको हो’ उप–प्रमुख आचार्यले भनिन्, ‘सडकको मापदण्ड अहिल्यै नतोक्दा भविष्यमा ठूलो समस्या निम्तिने भएकाले यो कार्यमा नगरपालिकाले सजकता अपनाएको हो ।’

समयमै सडकको मापदण्ड नतोक्दा देशका कतिपय शहरहरु क्रुप भएकाले भेरीगंगामा फराकिला सडक निर्माणलाई शुरुमा प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।

८ मिटरभन्दा तलका सडक निर्माण नगर्ने योजनामा नगरपालिका छ । तर पहिला नै बस्ती विकास भइसकेका ठाउँमा बाहेक अन्य ठाउँहरुमा ८ मिटरभन्दा माथिका सडकहरु मात्रै निर्माण हुने आचार्य बताउँछिन् ।

नगरपालिकाभित्र पर्ने रत्न राजमार्ग र छिन्चु जाजरकोट सडक खण्ड बाहेक ग्रामिण सडक निर्माणमा नगरपालिकाले तिव्रता दिएको छ । हर्रे–मनिकाँडा, सत्तरी–वाग्ले, भ¥याङ–मोहटी र बाउनचौर–हर्रे सडक हाल निर्माणकै चरणमा छन् । रामाघट–समौझीघाट १० किलोमिटर सडक डिभिजन सडक कार्यालयले निर्माण गरिरहेको छ ।

नगरपालिका भित्रको रिङ रोडको अवधारणा अघि सारेर काम जारी रहेको उप–प्रमुख आचार्यको भनाई छ । नगर सभामा कांग्रेसको बहुमत भएपनि नगरपालिकाको विकासका लागि प्रतिपक्षसंग छलफल गरेरै योजनाहरु अघि बढाएको आचार्य बताउँछिन् ।

नगर भित्रका निर्माणाधिन सडकहरु चालु आर्थिक वर्षबाट शुरु हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले निर्माणको चरणमा र निर्माण भइरहेका योजनाहरुको प्रभावकारी रुपमा अनुगमन अघि बढाएको छ ।

निर्माण स्थलमै पुगेर योजनाहरुको नियमित अपडेट लिइरहेको आचार्यले उल्लेख गरिन् । ‘नगरपालिकाको गुरुयोजना पनि तयार गर्दैछौं ।’ आचार्यले थपिन्, ‘गुरुयोजना पश्चात् नगर क्षेत्रको विकासले गति लिन्छ । अबको चार वर्षमा हेर्न र घुम्न लायक भेरीगंगा बनाउन हामी कटिवद्ध छौं ।’

गुरुयोजना निर्माणार्थ नगरपालिकाले गाउँ, टोल र वडा स्तरबाट सुझाव संकलन गरिरहेको छ । ठूला योजना बनाउन सबै पक्षसंग सुझाव लिएर अघि बढेपनि साना कुराहरुमा प्रतिपक्षले विरोध गर्दा प्रभावकारी काम अघि बढ्न नसकेको नगरपालिका स्रोतले जनायो ।