☰ open Loading... 25 December 2024|  

‘दाना उद्योगबाटै मनग्य आम्दानी’
  | १४ भाद्र २०७५, बिहीबार ११:५५

टेकराज केसी
दैलेख (पातिकाल्ना) । दैलेख गुराँस गाउँपालिका अन्तरगत वडा नम्बर ३ का एक व्यक्तीले कुखुरालाई खुवाउने दाना मिल व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।


सेभ द चिल्ड्रेनको सहयोगमा एभरेष्ट क्लव दैलेखले गुराँस गाउँपालिकाको समन्वयमा दाना मिल स्थापना गर्न सहयोग गरेको थियो । मिल संचालनमा आएपछि स्थानीय प्रकाश शाहीले मनग्य नाफा लिएका हुन् ।

अहिले शाहीले २ जना कर्मचारीलाई रोजगारी दिएर पनि मासिक ३० हजार कमाउने गरेका छन् । उनले दुइजना कर्मचारीलाई मासिक १२ हजारको दरले रुपैयाँ दिने गरेका छन् ।

कुखुरालाई खुवाउने मिल स्थापना भएपश्चात एकातिर कुखुरा व्यवसाय गर्नेको संख्यामा वृद्धि भएको छ भने अर्कोतर्फ मिल व्यवसाय पनि फस्टाउने क्रममा गएको मिल संचालक शाहीले बताए ।

दान मिल उद्योग स्थापनाका लागि एभेरेष्ट क्लव दैलेखको युवा सशक्तीकरण बुलगारी परियोजनाले गुराँस गाउँपालिकासँगको समन्वयमा त्रिदेवी सहकारी संस्थालाई प्राविधिक र आर्थिक सहयोग गरेको थियो ।

त्यही सहकारी मार्फत नगेन्द्र सारु मगरको संयोजकत्वमा समिति बनाएर मिल संचालन गर्ने निर्णय भएको समितिका संयोजक सारुले बताए । त्यही समितिको निर्णय अनुसार मिल उद्योग संचालक समिति गठन गरी मिल संचालनमा ल्याइएको हो ।

मिल संचालक शाही विगतमा भारतिय सेनामा कार्यरत थिए । उनले भने, ‘म पहिले भारतिय सेनामा कार्यरत थिए, त्यो जागिरी छोडेर आफ्नै देशमा केहि गर्ने सोचका साथ व्यवसायमा लागेको छु, मलाई अर्काको काम भन्दा आफ्नै काममा आनन्द लाग्छ ।

शाहीले विदेश गएर अर्काको काम गर्नुभन्दा आफ्नै देशमा परिश्रम गर्न सबैलाई आग्रह गर्दै घरमा आफ्नै परिवासँग बसेर काम गर्दा आनन्द हुने अनुभव सुनाए ।

उनले मिल उद्योगसँगै माछापालन कुखुरा पालन, तरकारी खेती गर्ने गरेका छन् । मिल उद्योगसहित अहिले उनको मासिक ५० हजार जती कमाई हुने गरेको छ । उनले आफ्नै देशमा बसेर विभिन्न सृजनशिल काम गरी आफ्नो पहिचान बनाउन सुझाव समेत दिएका छन् ।

आफुलाई मिल उद्योग व्यवसाय गर्ने पे्ररेरणा सेभ द चिल्ड्रेनको सहयोगमा संचालित एभेरेष्ट क्लवको युवा सशक्तीकरण बुलगारी परियोजना अन्तरगतको कार्यक्रमबाट मिलेको उनको भनाई छ ।

मिल उद्योगबाट १५ हजार किलो दाना उत्पादन
दाना मिल उद्योगबाट अहिलेसम्म १५ हजार किलो दाना उत्पादन भएको संचालक प्रकाश शाहीले बताए । उनका अनुसार अहिले दिनमा १० क्विन्टल दाना उत्पादन हुने गरेको छ ।

पहिले दाना विक्रि गर्न समस्या हुने गरेको भन्दै उनले अहिले माग समेत पुर्ती गर्न नसकिएको बताए । अहिलेसम्म मिलबाट १५ हजार किलो दाना उत्पादन भइसकेको उनको भनाई छ ।

उनले अन्य ठाउँको दानाभन्दा केहि रकम कममा बेच्ने गरेका छन् । उनले किलोको ५० रुपैयाँका दरले दाना विक्रि गर्ने गरेका छन् । अन्य ठाउँको दानाभन्दा आफुले उत्पादन गरेको दाना पोषिलो भएको उनको दाबी छ । उनले उत्पादन गर्ने दानाको गुणस्तर मापन भइरहेको र केहिदिनमा रिजल्ट आइसक्ने जनाइएको छ ।

बजार माग पुरा गर्न मिक्चर मेसिन ल्याउने तयारी
पातीकाल्नामा रहेको यो दाना मिलमा अहिले दानामा मिसावट गरिने भट्टको पिना लगायतका सामग्री हातले मिसाउने गरिएको छ । जसले उत्पादन कम हुने गरेको संचालक शाहीको भनाई छ ।

जसका कारण बजार माग पुरा हुन नसकेको उनले बताए । उनका अनुसार अबको केहिदिनमा दाना तयार गर्ने मिक्चर मेसिन ल्याइदैछ । जसले एक दिनमा अहिलेको उत्पादनको दोब्बर हुने र बजार माग पनि पुरा हुने अपेक्षा लिइएको छ । यो मेसिनबाट दानमा मिसावट गरिने विभिन्न वस्तुहरु सजिलै हुने छ भने उत्पादन गर्न पनि सजिलो हुने उनको भनाई छ ।

दानाको लागि अधिकांस वस्तु स्थानीय स्तरमै
दाना उत्पादनको लागि अधिकांस वस्तु स्थानीय स्तरमै रहेको संचालक शाहीले बताए । उनका अनुसार स्थानीय स्तरमा पाइने मकै, भटमास लगायत ५७ प्रतिशत वस्तु हुन्छ भने बाहिरबाट ४३ प्रतिशत वस्तु खरिद गर्नुपरेको छ ।

जसले दाना उत्पादन गर्न सहज भएको छ भने स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरुको खपत पनि भएको छ । दानामिलका कारण गाउँ गाउँमा कुखुरा व्यवसाय गर्नेको संख्या बढेको पनि पाइएको छ ।

नजिकै ताजा दाना उत्पादन हुने हुदा मानिसहरु कुखुरा व्यवसायमा आकर्षित भएका हुन् । अहिले दानाको साथसाथै मासुको उत्पादन पनि बढेको देखिन्छ । यहाँ उत्पादन हुने दाना अन्य ठाउँमा उत्पादन हुने दानाभन्दा गुणस्तरिय र कुखुराको औषधीको काम समेत गर्ने दाना मिल संचालक शाहीको दाबी छ ।

मिल व्यवसाय राम्रो बनाउन मीलकै सहयोग
दाना मिलबाट उत्पादन हुने दानाको वजारीकरण तथा त्यसमा गरिने कामलाई प्रभावकारी बनाउन सेभ द चिल्ड्रेन अन्तरगतको अनुगमन मुल्याङ्कन गर्ने निकाय मीलले महत्वपूर्ण भुमीका निर्वाह गरेको देखियो । सेभ द चिल्ड्रेनको सहयोगमा संचालनमा रहेका कार्यक्रमहरुलाई अनुगमन तथा मुल्याङ्कन गर्ने काम यसले गर्दछ ।

बुलगारी परियोजना अन्तरगत संचालन गरिएको यो उद्योगको काम प्रभावकारी भए नभएकोबारे विभिन्न कोणबाट यसले अध्ययन गरी आवश्यक निर्देशन सम्बन्धीत कार्यक्रम फिल्ड प्रमुखहरुलाई दिदा उत्पादनमा अझै सहयोग पुगेको बुलगारी परियोजनाका फिल्ड अधिकृत बाबुराम आचार्यले बताए ।

यस्तै, सेभ द चिल्ड्रेनको सहयोगमा संचालनमा रहेका जुनसुकै कार्यक्रमलाई प्रभावकारी बनाउन लाभाम्बित समुदायका गुनासा, प्रश्न तथा त्यसको मापन गर्न आफुहरु सधै तयार रहेको मिल भुपेन्द्र खत्रीले जानकारी दिए । उनले कार्यक्रमप्रतिका केहि गुनासाहरु भए आफुहरुलाई सच्याउनेगरी सुझाव दिन आग्रह समेत गरेका छन् ।

उत्पादन बढाउन तथा आर्थिक क्षेत्र बलियो बनाउन गुराँस गाउँपालिकाले पनि विभिन्न योजनाहरु बनाएको छ । विभिन्न गैर सरकारी संघ संस्थाका उन्पादनसँग मिल्दा जुल्दा कार्यक्रम भए गाउँपालिकासँग साझेदारी गरेर काम गर्दै आएका छन् । त्यही साझेदारी अन्तरगत बुलगारी परियोजना गुराँस गाउँपालिकामा संचालित रहेको छ ।