☰ open Loading... 25 December 2024|  

छुवाछुत र छापउडी हटाउन तीज गीत गाएर सचेतना फैलाइँदै
  | २१ भाद्र २०७५, बिहीबार १७:३६

सुर्खेत । तीजका गीत झट्ट सोच्दा माइती र चेलीबीचका भावनात्मक कुरा झल्काउने, दर खाने, गहना लगाउने, साथीसंगी जम्मा भएर नाच्ने जस्ता कुरा समेटिएको हुन्छ भन्ने अधिकाँसको सोच छ । तर कुनाथरीका महिलाहरुले भने तीज गीतबाटै सामाजिक कुरिती हटाउने प्रयास गरेका छन् ।

बराहताल गाउँपालिका वडा नं. ८ को कुनाथरीका महिलाहरुले छाउपडी प्रथा र जातिय विभेद तथा छुवाछुत सम्बन्धीका तीज गीत गाएर सचेतना फैलाएका हुन् ।

कल्पना आमा समूहले बिहीबार आयोजना गरेको तीज विशेष कार्यक्रममा विभिन्न समूहबाट सहभागी महिलाहरुले छाउपडी प्रथा र जातीय विभेद सामाजिक कुरिती भएकाले यस्ता संस्कार त्याग्नुपर्ने भावका गित प्रस्तुत गरेका थिए ।

सकरात्मक काम भन्दै कार्यक्रम हौसला बढाउन गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेत कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रम उद्घाटनपछि बोल्दै अध्यक्ष वस्नेतले छाउँपडी र जातीय विभेद तथा छुवाछुत गाउँपालिकाभित्र समस्याका रुपमा रहेको भन्दै यसको अन्त्यका लागि महिलाहरुले अग्रसरता लिएकोमा खुशी व्यक्त गरे ।

उनले जातीय विभेद र छाउपडी हटाउनका लागि गाउँपालिकाले सहयोग गर्ने योजना सुनाउँदै त्यसका लागि अगुवाई गर्न पनि महिला समूहहरुलाई अनुरोध गरेका छन् । वडा अध्यक्ष मणिराज कार्कीले महिलाहरु सचेत भएमा छुवाछुत र छाउँपडी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे ।

आफ्नो वडाबाट छाउँपडी र छुवाछुत अन्त्य गर्ने योजना रहेको बताउँदै वडा अध्यक्ष कार्कीले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा वडा नं. ८ को कार्यालयका साथै किडार्क नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेत र सरस्वती आधारभूत विद्यालयले सहयोग गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अन्तर्गत विभिन्न वडाका आठ वटा महिला समूहहरु, विद्यार्थी, संवाद केन्द्रका साथै स्थानीयहरुको सहभागिता थियो । विद्यालयका शिक्षक, किडार्क नेपालका कार्यक्रम संयोजक शुशीला श्रेष्ठ, फोकल पर्सन प्रतिमा परियार, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका फिल्ड अधिकृत ताराकुमारी ढकाल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो