☰ open Loading... 26 December 2024|  

दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना
  | २१ भाद्र २०७५, बिहीबार १७:४७

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले विहीबार दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञान केन्द्र दैलेखको औपचारिक उद्घाटन गरेकी हुन् ।

उनले कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना गरिएको बताइन् । प्रदेशको कृषि क्षेत्रका लागि विनियोजित बजेटलाई गरिवमुखि बनाउन कार्यालय स्थापना गरेर अगाडि बढेको उनको भनाइ थियो ।

प्रदेश सरकार नागरिकको विकासका लागि गम्भीर रहेको भन्दै उनले बजेट अभावमा कुनैपनि कार्यक्रम तथा योजना अधुरो नरहने जिकिर गरिन् । कर्णालीको विकासका लागि सबैभन्दा पहिले सबैको चेतना परिवर्तन आउन आवश्यक रहेको औल्याइन् ।

जिल्लालाई समन्वयको रुपमा संविधानले परिकल्पना गरे अनुसार सबै जिल्लामा कृषि तथा पशु ज्ञान केन्द्र स्थापना दैलेखबाट शुरु गरिएको मन्त्री केसीले बताइन् ।

कर्णाली प्रदेशका दश वटा जिल्लामा संघीय सरकारबाट ७ वटा कृषि ज्ञान केन्द्र र ७ वटा पशु ज्ञान केन्द्र तोकिएपनि कर्णालीको आवश्यकता र भूगोल अनुसार प्रदेश सरकारले थप कृषि तथा पशुमा तीन÷तीन वटा ज्ञान केन्द्र थप गरी स्थापना गर्ने जानकारी दिइन् ।

उनका अनुसार सुर्खेत, सल्यान र मुगुमा कृषि ज्ञान केन्द्र तथा दैलेख, कालिकोट र जाजरकोटमा पशु ज्ञान केन्द्र प्रदेश सरकारले थप गर्ने निर्णय गरिएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा दैलेखबाट प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले जिल्लामा कृषिको विकासका लागि आफु निरन्तर प्रयासरत रहेको बताए ।

त्यस्तै कार्यक्रम प्रदेशसभा सदस्य रातो कामी, मिनसिंह रखाल, कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरीलगायतको सहभागिता रहेको थियो ।