☰ open Loading... 28 September 2025|  

सुर्खेतमा १४ जना पुरुषले पत्नीविरुद्ध सम्बन्ध विच्छेदकाे मुद्दा दर्ता गराए
  | २२ भाद्र २०७५, शुक्रबार १५:२०

सुर्खेत । भदाै १ गतेदेखी मुलुकमा नयाँ मुलुकी संहिता लागू भएको शुक्रवार २२ दिन भएको छ । २१ दिनमा सुर्खेतमा सम्वन्ध विच्छेदका ३० मुद्दा दर्ता भएका छन् । यी मध्य १४ जना पुरुषले सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । बाँकी १६ मुद्दा भने महिलाले पती विरुद्ध सम्वन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।

‘पहिले पुरुषले कहिलेकाहीँ मात्रै अदालतमा सम्बन्धविच्छेद गरिपाउँ भनेर अदालतमा मुद्दा हाल्न आउने गरेका थिए,’ विगतलाई स्मरण गर्दै जिल्ला अदालतका श्रेस्तेदार विरेन्द्रबहादुर मल्लले भने, ‘तर, २१ दिनमा पुरुषहरुले सम्वन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।’

‘नयाँ मुलुकी संहिता लागू भएको दिनदेखि पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न आएका छन्,’ उनले भने, ‘उनीहरूले सम्पत्ति हिनामिना गरेको, मन खुशी हिँड्ने गरेको, सम्पर्कमा नआएको दाबीसहित मुद्दा दर्ता गराएका छन् ।’

श्रेस्तेदार मल्लले नयाँ कानूनले पुरुषलाई सम्बन्धविच्छेद गर्न सहज बनाएको बताए । ‘यसअघिको कानूनमा महिलाले मात्रै सहजरुपमा मुद्दा दर्ता गराउने व्यवस्था थियो । पुरुषका लागि सम्बन्धविच्छेद गराउन अदालत जान खोजे लामो र झन्झटिलो प्रक्रिया थियो,’ उनले भने, ‘तर अहिले पुरुषलाई सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न साह्रै सहज भएको छ ।’

तर, महिलाले भने पुरानै हिसाबमा मुद्दा दर्ता गराइरहेको उनको भनाई छ । ‘महिलाले पतीले खान लाउन नदिएको, घरेलु हिंसाजस्ता दाबीसहित मुद्दा दर्ता गराएका छन्,’ उनले भने, ‘उनीहरूको मुद्दाको पनि प्रक्रिया शुरू भइसकेको छ ।’

श्रेस्तेदार मल्लले वैदेशिक रोजगारी नै सम्बन्ध विच्छेदको ठूलो कारक रहेको बताए । ‘अहिले अदालतमा आएका मुद्दाको प्रकृति हेर्दा वैदेशिक रोजगार नै प्रमुख कारकको रुपमा देखिन आएको छ,’ उनले भने, ‘दोस्रो कारकको रुपमा लागूऔषध, मदिरा र शंका उपशंका नै सम्बन्धविच्छेदको कारकका रुपमा मैले देखेको छु ।’

जिल्ला अदालत सुर्खेतमा भदौं १ गतेदेखि २१ गतेसम्म जम्मा ६६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३० वटा सम्बन्धविच्छेदका २५ वटा फौजदारी अभियोग र ११ अन्य मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले गर्ने विवाह दर्ता नयाँ कानून लागू भएसँगै अदालतले विवाह दर्ता गर्ने बाटो खुलेको छ । जिल्ला अदालत सुर्खेतले एक जोडीलाई विवाह दर्ताको प्रमाणपत्र समेत दिइसकेको अदालत स्रोतले जनाएको छ ।