सुर्खेत । भेरीगंगा नगरपालिका–१ का बासिन्दा सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बर्खाको भेलमा पनि ट्युबको भरमा भेरी वारपार गर्नुपर्ने अवस्था छ। भेरी नदी पार गर्ने क्रममा २०५४ सालयता १४ जनाले ज्यान गुमाइसकेका छन्।
भेरीगंगा नगरपालिकाअन्तर्गतका आदी, बसेरा, सालघारी, बारुले, घुमाउने, सिसौ, ढाप, सुनकाउली, मनिरामकाँडालगायत गाउँका २२ सयभन्दा बढी घरधुरीका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएकाे खवर नागरिक दैनिकमा छ ।
नजिकमा झोलुंगे पुल नहुँदा ट्युबमार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन्। अघिल्लो वर्ष ट्युबको भरमा भेरीको उर्लंदो भेल पार गर्ने क्रममा बसेरीका कल्पना राना र नरबहादुर बुढामगरले ज्यान गुमाए । त्यसपछि स्थानीय २२ सय घरधुरीका अगुवा झोलुंगे पुल माग्दै स्थानीय तहदेखि संघीय सरकारसम्म पुगे तर उनीहरुको माग अहिलेसम्म पूरा हुन सकेको छैन।
भेरीगंगा नगरपालिका–१ का वडासदस्य हरिबहादुर थापाले भने, ‘स्थानीयदेखि संघीय सरकारसम्म पुगेर झोलुंगे पुल माग गरे पनि अहिलेसम्म पूरा हुन सकेको छैन् ।’ झोलुंगे पुल माग गर्दै १ सय ६३ परिवारले स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विभागमा मागपत्र बुझाएका छन् । अहिलेसम्म उनीहरुको माग सम्बोधन भएको छैन्।
झोलुंगे पुलको माग कार्यान्वयन गराउन स्थानीय हरे बुढाको संयोजकत्वमा समिति गठन गरिएको छ। ‘हरेक वर्ष भेरीमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्न र संघीय राजधानीसमेत रहेको वीरेन्द्रनगरसम्मको यात्रा सहज बनाउन समिति गठन गरेका हौं’, संयोजक बुढाले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारसँग पुल बनाइदिन माग गर्दै ज्ञापनपत्र र मागपत्र बुझाउँदा पनि सुनुवाइ भएको छैन्।’
बुढाका अनुसार भेरीगंगा नगरपालिका–१ र वीरेन्द्रनगर नगरपालिका–९ जोड्ने पुल नहुँदा ट्युबको सहारा लिनुपर्ने बाध्यता छ । ‘२१ वर्षको अवधिमा १४ जनाले भेरी तर्ने क्रममै ज्यान गुमाइसकेका छन्’, बुढाले भने, ‘पुल नबने अझ कतिले ज्यान गुमाउनुपर्ने हो, थाहा छैन।’ स्थानीयले मागपत्रमा २१ वर्षको अवधिमा ज्यान गुमाएका व्यक्तिको विवरण पनि राखेका छन्।
२०५४ सालमा ट्युब पल्टिएर उर्मिला शर्माले ज्यान गुमाइन् भने २०५५ सालमा ललिराम जैशीको ज्यान गयो। २०५६ सालमा नरेन्द्र शर्मा, अमृता घर्ती, २०५७ सालमा कृपाराम जैशी, २०५८ मा दिनेश रावत, २०५९ मा रामबहादुर थापा, २०६९ मा भोजबहादुर राना, हरिबहादुर कार्की, २०७२ मा बलबहादुर रामजाली, २०७३ मा हरिबहादुर थापा, बैकुण्ठ थापा र २०७४ मा कल्पना रानाका साथै नरबहादुर बुढामगरले ज्यान गुमाए । पुल नहुँदा हरेक वर्ष भेरीमा ज्यान गुमाउनुपर्ने बाध्यता त छँदैछ, त्यसमाथि यहाँका उत्पादनको बजारीकरणसमेत हुन पाएको छैन।