रसुवा । नेपाल खाद्य संस्थान तथा नेसनल ट्रेनिङ लिमिटेडले दुर्गम जिल्लाका लागि पठाइएको खाद्यान्न सामग्री रसुवागढी नाकामा नै थन्किएको छ । डोल्पा जिल्लाको तिन्जे डिपोका लागि पठाएको चामल तथा नुन र अन्य निर्माण सामग्री ४० दिनदेखि रसुवागढी नाकामा नै थन्किएको हो ।
४० दिनअघि केरुङ लैजान लागिएको सामग्री चीनतर्फको भन्सार कार्यालयले एजेन्टमार्फत लान नमिल्ने बताएपछि रसुवागढी नाकामै थन्किएको निकासीकर्ता रामशरण देउजाले बताए । उनले भने, ‘यसअघि सामग्री लैजान सहज थियो, नेपालतर्फ सामग्रीको भन्सारसमेत भइसकेको छ । चीनतर्फको भन्सार कार्यालयले एजेन्टमार्फत सामग्री लैजान मिल्दैन भनेर लैजान दिएन ।’
विगतमा दुर्गमका लागि खाद्यान्नको ढुवानी गर्दा खुला रूपमा लाने व्यवस्था भए पनि अहिले कन्टेनरको प्रयोग गर्नुपर्ने नयाँ व्यवस्थाले रोकिन पुगेको बताइएको छ ।
टिमुरेमा भण्डारण गरी राखियो
डोल्पा पुर्याउन लागिएको खाद्य सामग्री निर्यातका लागि चीन सरकारले अनुमति नदिएपछि व्यापारीले प्रहरी चौकी टिमुरेमा भण्डारण गरेका छन् । ४० दिनसम्म रसुवागढी नाकामा थन्किएको चामल र नुन प्रहरी चौकीमा भण्डार गरिएको हो ।
डोल्पाका लागि ४ हजार ७ सय क्विन्टल चामल र २ हजार ७ सय क्विन्टल नुन लैजान लागिएको छ । त्यस्तै, १० वटा कन्टेनरमा विद्यालय, पुल र स्वास्थ्य चौकीको सामग्री रहेको बताइएको छ । त्यस्तै, पाँचवटा कन्टेनरमा भने डिजेल रहेको बताइएको छ ।