☰ open Loading... 18 November 2024|  

उपन्यासकार भरत सुवेदीको ‘छाया’ विमाेचन
  | ६ आश्विन २०७५, शनिबार १८:०४

सुर्खेत । उपन्यासकार भरत सुवेदीको उपन्यास ‘छाया’ विमोचन भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन एवम् साहित्यकार प्रा. खोपीराम लम्सालले उपन्यासको विमोचन गरेका हुन् । मध्यपश्चिमाञ्चल गजल मञ्चले आयोजना गरेको उपन्यास विमोचन एवम् रचना वाचन कार्यक्रममा उपन्यासको विमोचन भएको हो ।

शुभकामना मन्तव्य दिँदै साहित्यकार प्रा. खोपीराम लम्सालले उपन्यास विधामा स्वच्छन्दतावादको प्रयोग हुने भएपनि उपन्यासको शीर्षकमा सार हुनु पर्ने बताए । ‘अविधा, लक्षणा र व्याञ्जना कुन अर्थमा शीर्षक राखिएको छ भन्ने कुरालाई पाठक तथा समालोचकले छुट्याउनु पर्ने बताए ।

सबै पाठकहरुले पठनयोग्य बनाउनका लागि उपन्यासको कथा बस्तु नै प्रमुख हुने बताउँदै उपन्यासले समाज रुपान्तरण गर्न सक्नु पर्ने उनको धारणा थियो ।

उनले भने, ‘समृद्धिका लागि साहित्यको रचना हुनुपर्दछ ।’ उपन्यासमा सम्वाद हुनु पर्ने जरुरी भएपनि सम्वाद छोरा हुनु पर्ने, उपन्यास लेखनमा भाषा र भाषिकामा ख्याल गर्नु पर्ने उहाँको भनाई थियो ।

‘गौण र मूल उद्देश्य बोकेर कृतिहरु आउने गर्दछन्’ प्रा. लम्सालको भनाई थियो ।

उपन्यास माथि टेकनारायण लम्सालले बाेलेका थिए ।

उनले उपन्यासले दिन खोजेको सन्देश र उपन्यासकारले समेटेका कथावस्तुका बारेमा चर्चा गरेका थिए ।

शब्दार्थ प्रकाशनले बजारमा ल्याएको उक्त उपन्यास २१६ पेजको छ भने त्यसको मूल्य ४०० रुपैयाँ रहेको छ ।

कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, अछाम, बाँके, बर्दिया, सल्यान, दाङ लगायतका गजलकारहरुले गजल वाचन गरेका थिए भने कवि कपिलनाथ योगीले कविता वाचन र तेज विक्रम केसीले गेडी समेत वाचन गरे

कार्यक्रम मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ को सभापतित्वमा भएको थियो भने सहजीकरण महासचिव पहल असिम थापाले गरेका थिए ।