☰ open Loading... 23 December 2024|  

कर्णालीका कांग्रेस नेताले भने ‘भुगोल र खसआर्यको प्रतिनिधित्व सुनिश्चित गर’
  | ९ आश्विन २०७५, मंगलवार २०:२८

सुर्खेत । नेपाली काँग्रेसको केन्द्रीय समितिमा कर्णाली प्रदेशबाट भुगोल र खस आर्यको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधानमा व्यवस्था गर्न स्थानीय नेतहरुले सुझाव दिएका छन् । नेपाली काँग्रेस विधान मस्यौदा समितिले आयोजना गरेको दुई दिने कर्णाली प्रदेशस्तरीय भेलामा सहभागी काँग्रेस कार्यकर्ताले सधै पछाडि पारिएको कर्णाली प्रदेशबाट पार्टीमा प्रतिनिधित्व बढाउन खस आर्य र भुगोललाई आधार मान्नु पर्ने बताएका छन् ।


पूर्व मन्त्रीसमेत रहेको मुगुका काँग्रेस नेता हस्तबहादुर मल्लेल पार्टीलाई सबै क्षेत्र र वर्गको पार्टी बनाउन पनि केही आरक्षण आवश्यक रहेको बताए । ‘कर्णाली प्रदेश भौगोलिक रुपमा ठुलो भए पनि जनसंख्यालाई आधार मान्दा यहाँको प्रतिनिधीत्व हुन सकिरहेको छैन’ उनले भने, ‘केन्द्र र प्रदेशमा कर्णालीको प्रतिनिधित्व बढाउन यहाँको वास्तविकतालाई ध्यान दिन जरुरी छ ।’

उनले कर्णालीका खस आर्य समुदायबाट प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा व्यवस्था गर्न माग गरे । नेपाली काँग्रेसलाई विधी र पद्धतीमा चल्न सक्ने बनाउन सबै पदमा निर्वाचित हुने व्यवस्था हुनुपर्नेमा जोड दिए । गाउँमा जनआधार नभएकाहरु नेताको पिछलङ्गु भएर टिकट लिने अनि चुनाव हारेको दोष जिल्लाका अन्य नेतालाई लगाउने प्रवृत्ती पार्टीका लागि हानिकारक भएको उनको भनाई छ ।

नेपाली काँग्रेसको सभापति हुन १० बर्ष निरन्तर क्रियाशिल भएको हुनु पर्ने प्रस्तावित विधानको प्रावधानलाई बढाएर २० बर्ष बनाउन कर्णालीका नेताहरुले सुझाव दिएका छन् । त्यसैगरी उपसभापति, महामन्त्री र कोषाध्यक्ष हुनका लागि पनि १५ बर्ष निरन्तर क्रियाशिल सदस्य भएको हुनु पर्ने व्यवस्था गर्ने माग गरेको भेलामा सहभागी नेपाली काँग्रेस कालिकोटका सभापति हर्षबहादुर वमले बताए ।

भेलाका सहभागीहरुले केन्द्रीय समितिमा खुला सदस्यको संख्या ३५ पु¥याउन र प्रदेशबाट समानुपातिकसहित पाँच जना केन्द्रीय सदस्य सुनिश्चित गर्न सुझाव दिइएको छ ।

पार्टीका नेताहरुको अन्तर्घातका कारण चुनावमा पार्टी पराजित हुँदा पनि अन्तर्घात गर्नेहरुलाई कार्वाही नहुँदा अनुशासनहिनता बढेकोप्रति काँग्रेस नेताहरुको चिन्ता छ । विभिन्न तहको निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा पार्टीको हित भन्दा पनि व्यक्तिको आकांक्षामा टिकट दिँदा धेरै ठाउँहरुका चुनाव हार्नु परेको भन्दै उनीहरुले टिकट वितरणको अधिकार जिल्ला तहलाई नै दिनुपर्ने बताए ।

नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति तप्तबहादुर बिष्टले पार्टीमा अन्तर्घातको प्रवृत्ती अन्त्य गर्न नसके कार्यकर्तामा अनुशासनहिनता बढ्ने बताए । उनले पार्टीमा अनुशासन कायम गर्न सभापति बलियो बनाउनु पर्ने तर्क गरे । सभापती हुनका लागि दुई कार्यकाल भन्दा बढी उम्मेदवार हुन नपाउने प्रावधान राख्न नहुने सुझाव दिए । पार्टीलाई बलियो बनाउन सदस्यता वितरण कार्यकर्तामुखि हुनु पर्ने उनले बताए ।

मुलुक संघीयतामा गएसंगै मुलुकको पुर्नसंरचनाअनुसार पार्टीको विधान संशोधन गर्न नेपाली काँग्रेसले सबै प्रदेशमा भेला आयोजना गरी सुझाव संकलन थालेको छ ।

सोमबार र मंगलबार वीरेन्द्रनगरमा आयोजित भेलामा आएका सुझावहरुलाई पार्टीको विधान संशोधन मस्यौदा समितिमा लगिने समितिका सदस्य मानबहादुर बिश्वकर्माले बताए । ‘प्रतिकुल मौषम र भौगोलिक विकटताको समेत प्रवाह नगरी सुर्खेत आएका नेताहरुबाट पर्याप्त सुझाव पाइएको छ’ उनले भने, ‘यी सुझावहरुलाई हुँवहु विधान मस्यौदा समितिमा लिने हाम्रो प्रतिबद्धता छ ।’

सुझाव संकलनका क्रममा विधान मस्यौदा समितिले दिएका विकल्प बाहिरबाट पनि केही विकल्प आएको भन्दै त्यस्ता विकल्पहरु समितिमा छलफल गरिने अर्का सदस्य प्रदीप पौडेलले बताए ।

पार्टीको जिल्ला, प्रदेश, र केन्द्रमा पदाधिकारी एकरुपता ल्याउनु पर्ने, सबै तहमा ९ जना पदाधिकारीहरुको व्यवस्था गर्नु पर्ने, अधिकारको बाँडफाँडको कुरालाई तल्लो तहसम्म लैजानु पर्ने, अनुशासन समितिलाई क्रियाशिल बनाउनु पर्ने, भुगोलको आधारमा प्रतिनिधीत्व हुनु पर्ने लगायतका सुझावहरु आएकोले समितिमा छलफल गरिने उनले बताए ।

नेपाली काँग्रेसको केन्द्रीय समितिको आयोजनामा गरिएको सुझाव संकलनमा कर्णाली प्रदेशका सबै जिल्लाका पार्टी सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीकातर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख गरी दुई सय भन्दा बढीको सहभागीता रहेको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए । दुई दिनको उक्त सुझाव संकलन कार्यक्रममा मस्यौदा विधानमा विभिन्न पाँच समूहमा छलफल गरिएको थियो ।