☰ open Loading... 25 April 2024|  

जुम्लामा काठे गाई लाेप हुँदै
  | ९ आश्विन २०७५, मंगलवार २०:३७

जुम्ला । जुम्लामा पछिल्लो समय काठे गाईपालनमा कमी अाउन थालेकाे छ । कुनै बेला कर्णाली क्षेत्रमा छोरी दिनुप¥यो भने थाडो अथवा छतमा जौको भल्को वा कुनियो र गोठमा गाई कति छ भन्ने देखिने गरिन्थ्यो । हिजोआज गोठमा काठेगाई देखिन छाडेको छ । हिमालमा चौँरी, तराईमा गौरी र जुम्लामा काठेगाई पाइने गरिन्छ ।

photo by Nepal Trekking

पहिला पहिला जुम्लामा एक घरमा १० देखि १०० सम्म गाई पाल्ने गरिए पनि पछिल्लो समय एक घरमा दुईदेखि चारसम्म मात्र गाई पाल्ने गरेको छ । जुम्लामा पाइने काठेगाई हिमालमा पाइने चौँरी र तराईमा पाइने गौरीभन्दा फरक मानिन्छ ।

यो गाई सानो भएकाले जुम्लाको हावापानीमा सुहाउने र चिसो भएकाका कारण यहाँका सानो गोठमा राख्न पनि सजिलो हुने तथा यस गाईको दूध अरुको दूधभन्दा पोसिलो र चिल्लोपना बढी हुने गरिन्छ ।

यस गाईको दूधबाट बनेको घ्यूले शरीर दुख्ने, रुघाखोकी लाग्दा, शित लाग्दा, चोट पटक लाग्दा उपचारका रुपमा प्रयोग गरिनुका साथै यसको मल अरुभन्दा राम्रो र बढी मलिलो हुने गरेको छ ।

यसले जुम्लाको सुख्खा जमीनमा चिस्यान राख्न पनि मद्दत गर्दछ भने यस गाईबाट जन्मेको गोरुले भिरपाखा जोत्न पनि सहज हुने गर्छ । यो गाई चिसो बढी सहन सक्ने र रोग प्रतिरोधात्मक क्षमता पनि बढी भएकाले यो गाईको पालन जुम्लाका किसानका लागि उपयुक्त मानिएको छ ।

हिउँदको छ महीनामा घरको गोठमा गाई राख्दा घर तातो हुने, मलको संरक्षण हुने तथा वर्षामा लेखतिर राख्दा घरतिरको बाली संरक्षण हुने र गाईलाई पनि रोग नलाग्ने गरी व्यवस्थापन गरिन्थ्यो तर हिजोआज गाईपालनमा नै कमी आएको छ ।

जुम्ला कनकासुन्दरी–५ का विष्णु उपाध्यायले पहिलापहिला एक घरमा ५०-६० सम्म गाई पालिन्थ्यो तर हिजोआज यसमा कमी आएको छ भन्दै गाईपालनको आएको कमीका कारण कृषि उत्पादन पनि घटेको छ ।