☰ open Loading... 19 November 2024|  

बालुवा ल्याउन लागेका टिप्परमा स्थानीयको अवरोध
  | १८ आश्विन २०७५, बिहीबार १३:५३

सुर्खेत । वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको बालुवा ल्याउन गएका टिप्परलाई स्थानीयले अवरोध गरेका छन् । गत आर्थिक वर्षमा मौज्दात गरेको बालुवा लिन गएका सपना-अाशिष-श्याम एण्ड शंकर जे.भीका टिप्परहरु लेकवेशी नगरपालिकाको चिंगाडमा स्थानीयहरुले अवरोध गरेका हुन् ।

लेवबेशी नगरपालिका–८ चिसापानीमा मौज्दात राखिएको बालुवा लिएर आउने क्रममा स्थानीयले अवरोध गरेको श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रा.लि.का म्यानेजर कलमकुमार केसीले जानकारी दिए । उनका अनुसार स्थानीयले आफूहरुले पनि बालुवा निकाशी गर्न पाउनु पर्ने मागसहित टिप्परहरु रोकेका छन् ।

‘हामीले प्रक्रियागत रुपमा अघिल्लो आर्थिक वर्षको मौज्दात बालुवा ल्याएका हौं’ केसीले भने, ‘जिल्ला समन्वय समितिबाट सिफारिस लिएर विकास निर्माणको काम शुरु भएपछि आवश्यक बालुवा ल्याउन लाग्दा स्थानीयबाट अवरोध भएको छ ।’ नयाँ बालुवा नभई मौज्दात बालुवा ल्याउन लागिएको उनको भनाई छ ।

श्याम एण्ड शंकरले गत आर्थिक वर्षमा झण्डै तीनहजार २०९ घनमिटर बालुवा लेकवेशी नगरपालिका–८ चिसापानीमा संकलन गरेको थियो । सोही बालुवा उठाउनका लागि लेकवेशी नगरपालिकालाई दुई लाख ३० हजार राजश्व समेत श्याम एण्ड शंकरले बुझाइसकेको छ ।

‘लेकवेशी नगरपालिकाले पाँच दिनभित्र मौज्दात रहेको बालुवा उठान कार्यादेश दिएको छ’ म्यानेजर केसीले भने, ‘स्थानीयले कुरै नबुझी बालुवा ल्याउन लागेका टिप्पर रोक्दा समस्या भएको छ ।’

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बशन्त रजौरेले चिंगाडमा रोकिएका टिप्परका विषयमा जानकारी नआएको बताए । कानुनी प्रक्रिया पूरा गरेर आएका टिप्पर रोकिएमा तत्काल प्रहरी पठाएर वीरेन्द्रनगर पठाउने उनले जानकारी दिए ।