सुर्खेत । विकास साझेदार निकायका अन्तर्राष्ट्रिय प्रमुखहरु कर्णाली प्रदेशमा आएका छन् । कर्णालीमा साझेदार निकायले कसरी लगानी गर्ने भन्ने विषयमा छलफल गर्न यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआईडीका रुरिक मार्सडेन लगायत पदाधिकारीहरु सोमबार सुर्खेत आएका हुन् ।
कर्णालीको विकासका लागि साझेदार निकायहरुलाई लगानी गर्नका निम्ती कर्णालीमा उहाँहरुलाई बलाइएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । उनले बाह्य लगानीविना कर्णालीको विकास गर्न नसकिने भएकाले कर्णालीका आवश्यकता र विकासहरुलाई प्राथमिकतामा राखेर साझेदार निकायलाई लगानी गर्न आग्रह गरिने मन्त्री ज्वालाले बताए ।
‘हालसम्म कर्णाली प्रदेश सरकारले गरेका कामहरुको बारेमा उनीहरुलाई जानकारी गराउने र विकासको लागी सरकारले अवलम्वन गरेको नीति बारेमा समेत जानकारी गराउनेछौं’ मन्त्री ज्वालाले भने, ‘लगानीकर्ताहरुका अपेक्षा बारेमा छलफल हुनेछ ।’
यता, सुर्खेत आइपुगेका डिएफआइडीका एशिया निर्देशक रुरिक मार्सडेनले कर्णाली प्रदेशको विकासमा साझेदार निकायले गर्ने लगानीका बारेमा प्रदेश सरकार र स्थानीय सरकारका प्राथमिकताहरु बारे जानकारी लिइने बताए ।
‘प्रदेश र स्थानीय सरकारले गरेका कामहरु, विकासका प्राथमिकता र नीति तथा कार्यक्रम बारे छलफल गर्नेछौं’ मार्सडेनले भने, ‘उहाँहरुको योजना र नीतिबारे अनुगमनमार्फत ज्ञान लिएर लगानीका लागि आधार तय गर्नेछौं ।’
स्थानीय सरकारमार्फत प्रदेश सरकारले कसरी योजनाहरु कार्यान्वयन गरिरहेको छ भन्ने विषयमा जानकारी लिने उनको भनाई छ । साथै, कर्णालीमा डिएफआईडी, विश्व बैंक, युएनडीपी र ईयुले विगतमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम तथा आगामी योजनाहरु बारे पनि प्रदेश सरकारसंग छलफल गरिने डिएफआइडीका एशिया निर्देशक मार्सडेनले बताए ।