☰ open Loading... 18 November 2024|  

यस्ताे छ फर्क दाइ फर्क (भिडिया)
  | २२ आश्विन २०७५, सोमबार २०:११

काठमाडौं  । बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सिर्जना ’फर्क दाइ फर्क’ आज सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गीत सार्वजनिक गरेका हुन् ।

रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीत विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । उनले गीत मार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङकङ जस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराए ।

विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गीतमा पैसाले मात्रै सुख नहुने अनुभूति प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।

पुराना थुप्रै गीतका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गीत सार्वजनिक गरिएकाे हाे । बटौलीमा निम्तो छ मलाई जानु पर्छ जोर मादल भिरेर, अचेल गाउमा यस्तै छ साननानी, भैसी पालेर जस्ता गीतका सर्जक रायमाझी गित संगित क्षेत्रका अनुसन्धानकर्ता पनि हुन ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहेका रायमाझी गीत संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत हुन् ।बरिष्ठ सर्जक रायमाझीको गीत विमोचन गर्दै श्रममन्त्री बिष्टले सरकार र मन्त्रालयको भावना गीतले प्रकट गरेको बताए ।

सरकार र नेताहरुले गरेको आह्वानलाई जनताले सजिलै नपत्याउने गरेकाले कलाकारहरुले गरेको आह्वान प्रभावकारी हुने र हजारौ युवाहरु स्वदेश फर्किन प्रेरित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काँग्रेस प्रवक्ता तथा गीतकार विश्वप्रकाश शर्माले गीतले विदेशीएका चालिस लाख नेपालीलाई आफ्नै घरमा बोलाएको बताउनुभयो । उनले यो गीत एक दुई महिनाका लागि मात्रै नभएर यस दशक भरीकै गीत भएको धारणा राखे ।

भिजन लुम्बिनीको संयोजनमा भएको विमोचन कार्यक्रममा भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेल, सर्जक रायमाझी, एनआरएनका सहकोषाध्यक्ष सोमप्रसाद सापकोटा, पत्रकार ऋषी धमला लगायतले यो गीतले नेपाल र नेपालीको अहिलेको भावना र आवश्यकता बोलेको बताएका थिए ।