☰ open Loading... 18 April 2024|  

दुर्इ महिनापछि बसेकाे प्रदेश सभा बैठकमा का‌ंग्रेसकाे अवराेध
  | २३ आश्विन २०७५, मंगलवार १६:१९

सुर्खेत : दुई महिनापछि बसेको कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। कर्णाली सरकारका काम कारबाहीप्रति असन्तुष्टी जनाउँदै मंगलबार प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसका प्रदेशसभा सांसद दिनबन्धु श्रेष्ठले प्रदेश सरकारले चार महिनासम्म पनि बजेटको रातो किताब उपलब्ध नगराएको भन्दै सरकारको आलोचना गरे । ‘बजेट कहाँ कहाँ पर्‍यो भनेर थाहा छैन्, जनतालाई हामीले पनि जवाफ दिनु पर्छ,’ उनले भने, ‘सरकारले के काम गरिरहेको छ?, यो सदन प्रति सरकारले के गर्न खोजेको हो? हामी गम्भीर भएका छौँ ।’

श्रेष्ठले कर्णाली प्रदेश सरकारका राम्रा कामको सधैँ समर्थन गरिरहेको तर सरकारले पेपरलेस मन्त्रिपरिषद् बैठक भन्दै डिजिटल प्रदेशमा गएको भनेर प्रचार गरेर जनताका समस्या नजर अन्दाज गरेको आरोप लगाए ।

महत्वपूर्ण विद्येयकलाई पनि अघि नबढाएको, सदनलाई दुई महिनासम्म कामबिहीन बनएको भन्दै सांसद श्रेष्ठले मुख्यमन्त्रीबाट उचित जवाफ नआएसम्म सदन अवरुद्ध गर्ने घोषणासँगै प्रतिपक्षी कांग्रेसका सांसदले उठेर सदन अवरुद्ध पारेका हुन्। कर्णाली सरकार स्वच्छेचारी ढंगले चलेको, जनताका कामप्रति गम्भीर नदेखीएको, बजेट कार्यन्वयनतर्फ ध्यान नदिएको आरोप कांग्रेसको छ ।

कर्णाली प्रदेशको प्रदेशसभा बैठक पहिलोपटक आफ्नै भवनमा बसेको हो। यस अघि क्षेत्रिय सिँचाइको कार्यालयको सभाहलमा बस्दै आएको थियो ।