काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।
असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।
असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।
असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताए ।
विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।