☰ open Loading... 19 November 2024|  

सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक ः मुख्यमन्त्री शाही
  | २४ आश्विन २०७५, बुधबार १७:३२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्धारा आयोजित जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

समाज विकासका लागि स्वयंसेवी विज्ञ आवश्यक रहेको बताएका शाहीले भने ‘हाम्रो विज्ञता पैसामा बिक्री भईरहेको छ । मुलुकको विषम् घडिमा यो विज्ञता स्वयंसेवीसमेत बन्नुपर्दछ ।’ हाम्रो विज्ञतालाई पावरप्वाईन्टमा होइन, अब प्रमाणित गरेर देखाउन आवश्यक रहेको बताए ।

विज्ञता भाडामा बिक्री हुन नहुने भन्दै मुख्यमन्त्री शाहीले प्रदेश तथा स्थानीय तहको कानूनमा विपद् जोखिम न्यूनिकरणको नीतिगत कुरा राख्ने भूमिकामा बढी ध्यान दिने र यसका लागि प्रदेश सरकार जिम्मेवारी बोधका साथ अघि बढ्ने जनाए ।

पूर्वमन्त्री तथा विपद् जोखिम न्यूनिकरण क्षेत्रका विज्ञ डा.गंगालाल तुलाधरले भूकम्प, बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक तथा मानव विपद् जोखिम न्यूनिकरणका लागि सरकारले रणनैतिक महत्वको कानून बनाउनुपर्नेमा जोड दिए ।

विश्वको भूकम्प जोखिममा ११ औं, सडक दुर्घटनामा ५० देशमा पर्ने नेपालको भू–बनोटको अवस्था अध्ययन गरेरमा मात्र संरचना निर्माण गरिनुपर्नेमा उनको जोड थियो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसमेत भूकम्पको जोखिमबाट मुक्त नरहेको जनाउँदै विज्ञ तुलाधरले विज्ञानले समाधान पत्ता लगाउन नसकेको प्राकृतिक विपद् भूकम्पबाट बच्न उच्च सतर्कताको नीति निर्माण प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषिमन्त्री बिमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव रामप्रसाद थपलियासहित सम्पूर्ण मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।