| ८ कार्तिक २०७५, बिहीबार ०६:३२
मुगु । मुगुको रारा ताल प्रवेश गर्न आजदेखि आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपरेको छ । रारा राष्ट्रिय निकुञ्जले रारा ताल प्रवेशको लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिएको छ ।
बुधबार बिहानैदेखि रारा ताल पुग्ने सबै व्यक्तिसँग निकुञ्जले एक सय रुपैयाँ शुल्क लिएको रारा पर्यटन विकास समितिका अक्ष्यक्ष तथा रारा मुर्मा होमस्टेका सञ्चालक देविकृष्ण रोकायाले उज्यालो अनलाइनलाई जानकारी दिए ।
रारामा अहिले दैनिक १ हजार देखि १५ सय सम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यसअघि छायाँनाथ रारा नगरपालिकाले पनि प्रतिव्यक्ति २ सय रुपैयाँ प्रवेश शुल्क लिएपछि आलोचना भएको थियो । रारामा बस्नको लागि होटल थप्न नदिएको तर पर्यटकसँग शुल्कै शुल्क लिएको भन्दै निकुञ्जको आलोचना हुँदै आएको छ ।