☰ open Loading... 26 November 2024|  

वीरेन्दनगरकाे फोरलेन सडकमा पाँच पुल बन्दै
  | ११ कार्तिक २०७५, आईतवार ०७:५४

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकमा पुल निर्माणको काम शुरु भएको छ । धुलियाबिट–बांगेशीमल सडक खण्ड अन्तरगत पायल प्रविधिबाट पाँच ओटा पुल निर्माण गर्न काम शुरु भएको हो ।


वीरेन्द्रनगरमा फोरलेन सडक निर्माणकै क्रममा छ । त्यस अन्तरगत पर्ने पाँच खोलामा पक्की पुल निर्माणको काम चालु आर्थिकबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय सुर्खेतले ठेक्का आह्वान गरेर पुल निर्माणको जिम्मा सपना, आशिष, श्याम एण्ड शंकरलाई दिएको छ । निर्माण व्यवसायीले रेडियो नेपाल नजिकै रहेको ढोडे खाली खोलामा पुलको पायलिङ्ग गरिरहेको छ ।

खोलाको माटो परिक्षणका आधारमा पायलिङ्ग प्रविधिबाट पुल निर्माणको काम शुरु गरिएको डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । सुर्खेतमा पायल प्रविधिबाट पहिलो पटक पुल निर्माणको काम शुरुवात गरिएको हो ।

ढोडेखाली खोलामा पायलिङ्ग गर्ने काम सम्पन्न भए लगत्तै नेवारे खोला र गाग्रेताल खोलामा शुरु हुने प्रमुख अधिकारीले बताए । ८ किलोमिटर फोरलेन सडकमा पाँच ओटा पुल आवश्यक पर्छन् ।

यी मध्य ढोडेखाली, नेवारे र गाग्रेताल खोलामा नयाँ पुल बनाउन लागिएको छ । इत्राम र खोर्के खोला पुल भने यसअघि नै निर्माण गरि थियो । तर यी पुल फोरलेन अनुकल नभएपछि पुलको दायाँ–बायाँ विस्तार गरिने छ ।

गत बैशाखमा निर्माण सम्झौता भएको पुलको कार्यावधि २८ महिनाको छ । पाँच पुलको लागत ४७ करोड ५७ लाख ९६ हजार छ । यहीँ रफ्तारमा काम भए निर्धारित समयमै सम्पन्न हुनेमा सडक कार्यालय आशावादी छ ।

विभिन्न समयमा स्थानीय तहहरुले निर्माण सामग्री ढुवानी गर्न नदिँदा समस्या उत्पन्न हुने गरेको गुनासो आशिष, श्याम एण्ड शंकर जेभीका इन्चार्ज कलम केसीको छ ।

‘समयमै निर्माण सामग्री पाएको भए ढोडेखाली खोलामा पायलिङ्ग गर्ने काम सम्पन्न भइसक्थ्यो’ इन्चार्ज केसीले भने, ‘ आफ्नो कम्पनीले तयारीमा राखेको बालुवा र गिट्टी ढुवानी गर्न नदिँदा निर्माणमा केही ढिलाइ भएको छ ।’

निर्धारित समयमै काम सम्पन्न गर्न आफूहरु कटिवद्ध रहेको केसीले बताए । उनले विभिन्न समयमा आउने अड्चनहरु सम्वन्धित निकायले सहजिकरण गर्दिन आग्रह गरे । फोरलेन सडकमा बन्ने पाँच ओटै पुल पायलिङ्ग प्रविधिबाट निर्माण गरिने उनको भनाई छ ।