☰ open Loading... 28 March 2024|  

स्याबास दैलेखी युथ !
  | १८ कार्तिक २०७५, आईतवार १०:२९

प्रेमबहादुर शाहीले समाजशास्त्र र राजनीतिशास्त्रमा डिग्री गरेका छन् । अर्का युवा मनोज भण्डारीले इन्जिनियरिङ गरेका छन्, त्यसमा पनि जागिरे हुन् । सुशील देउजा स्नातकोत्तर पढ्दै छन्, उनी काठमाडौंमा व्यवसाय गर्छन् । यी तीन युवा दैलेखदेखि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं पुगे । तीन जनाले एउटा सोच बनाए– दैलेखको विकासका लागि केही गर्ने।

उनीहरूले योजनालाई मूर्त रूप दिए, ‘दैलेखी युथ’ नामाकरण गरेर । उनीहरूको अभियानमा शाही अध्यक्ष, भण्डारी सचिव र देउजा कोषाध्यक्ष छन् । र, अरु युवालाई गोलबन्द गरेका छन् उनीहरूले।

युवाहरूलाई कुलतबाट टाढा राख्न खेलकुद नै उत्तम उपाय लाग्यो उनीहरूलाई । उनीहरूले दैलेखमा बर्सेनि हप्ता दिनको एकचोटी खेलकुद महोत्सव गर्ने निर्णय गरे । दैलेखी युवाहरूको समूह बनाए– योजनावद्ध रूपमा दसैंतिहारका बीचमा ०७१ सालदेखि जिल्लामा खेल महोत्सव चलाए । सुरुमा आफ्नै खर्चमा महोत्सव गरे उनीहरूले । आज पाँचौं संस्करणसम्म आइपुगेका छन् उनीहरू।
सहयोगी मनहरू पनि उनीहरुको अभियानमा जोडिएका छन् । पाँच वर्षयता जिल्लामा खेलकुद माहोल यसरी तातियो कि दैलेखी युथ कपका लागि वर्षभरि गाउँगाउँमा खेलाडीहरू छाँटिने गर्छन् । अभ्यास हुन्छ।

विगतमा जिल्ला खेलकुद विकास समितिद्वारा सरकारले तोकेअनुसार वर्षमा एक पटक खेल आयोजना गरिन्थ्यो । जिल्लामा खेलकुद माहोल थिएन । व्यवसायिकरूपमा खेल खेल्ने चलन खासै थिएन । तर, पनि दैलेखमा एकाध गाउँहरूमा भलिबल खेलचाहिँ लोकप्रिय थियो । तर, व्यावसायिकरूपमा खेलिन्नथ्यो । दैलेखी युथकै कारण खेल क्षेत्र चम्कन पुगेको छ।

दैलेखी युथ कप तथा खेल महोत्सवको पाँचौं संस्करणसम्म आइपुग्दा प्रदेशमै ठूलो धनराशीको पुरस्कार फुटबलमा राखियो । विजेता टिमले एक लाख १० हजार रूपैयाँ नगद पुरस्कार र कप पाउँछ । उपविजेताले ५५ हजार पाउने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले बताए।

ऐतिहासिक तथा पुराताŒिवक महत्वको सुन्दर जिल्ला दैलेख युथहरूकै कारण खेलकुदमा अब्बल बन्दैछ । यसपाली दैलेख सदरमुकाममा तीन सय ५० खेलाडी मैदानमा प्रतिभा देखाउन आए । प्रत्येक वर्ष दसैं–तिहारको रौनकसँगै सुरु हुने दैलेखी युथ कपका लागि जिल्लाभरमा चर्चा हुने गर्छ । खेलकुदको रौनक दैलेखमा कम्ति छैन हिजोआज । त्यसैले दैलेखी युथले सबैको स्याबासी पाएका छन्।

सम्भवतः नेपालमा पहिलो पटक दैलेखबाटै सुरु भएको हो खेल महोत्सव । महोत्सवमा फुटबल, भलिबल (केटाकेटी), ब्याटमिन्टन, टेबुलटेनिस लगायतका खेल समावेश गरिन्छ । यतिबेला दैलेख स्पोर्टस् ब्याण्ड बनेको छ । दसैं–तिहार वीचको समयमा दैलेखी युथको पखाईमा हुन्छन् सबै।

दैलेखी युथ कपको चर्चा जति छ त्यति उनीहरूको पीडा पनि छ । उनीहरूले आफैं पैसा उठाएर अभियानमा लागेका हुन् । उनीहरू प्रतिसदस्य पाँच हजार रूपैयाँका दरले कप सुरु हुन अघि उठाउँछन् । अनि प्रयोजकको सहारा लिन्छन् । राजनीतिक आक्षेप, उदासिन सरकारी निकाय, पर्याप्त खेलमैदान र खेल माहोलको अभावका बीच दैलेख युथको पाँचौं संस्करण पूरा भइसकेको छ । यो गौरवको विषय हो ।
स्थानीय व्यवसायी, संघ, संस्था तथा अग्रजको सहयोग पाएका छन् उनीहरूले । पर्वमा गाउँमा आएका युवाको जमघट गरी महोत्सव मनाउँदा समाजमा शान्ति छाएको छ । विगतमा पर्वका बेला जुवातास, कुलत र झैं–झगडा हुने गथ्र्यो । दैलेखी युथ कप हुन थालेपछिका वर्षमा दैलेखमा अपराध न्यूनीकरणमा सहयोग पुगेको दैलेख प्रहरीको भनाई छ।

हुन त दैलेखी युथ खेल क्षेत्रमा मात्र सीमित छैन । उनीहरू बेलाबेलामा रत्तदान कार्यक्रम, भ्रष्टाचारविरुद्ध कार्यक्रम, स्कुल–स्कुलमा हाजिरीजवाफ प्रतियोगिता गर्छन् । गएको भूकम्पका बेला दैलेखका विद्यार्थीदेखि कापी–कलम जम्मा गरी भूकम्प प्रभावित विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका थिए उनीहरूले।

काठमाडौंमा समेत दैलेखसम्बन्धी विविध कार्यक्रम गर्दै आएका दैलेखी युथका युवा जिल्लाका गहना हुन् । दैलेखी युथ भनेका दैलेखका तारा भएको पत्रकार विशाल सुनारको बुझाई छ । खेलप्रतिको लगावका कारण दैलेखका बालबालिका समेत अहिले आफूलाई दैलेखी युथ भनेर चिनाउन चाहन्छन्।

प्रत्येक वर्ष घाटामै गए पनि खेललाई निरन्तता दिएका छन् दैलेखी युवाहरूले । ‘बगिरहेको खोलाले ठुल्ठूला ढुंगालाई काट्छ, बगाउँछ । यो उसको शक्तिले होइन, निरन्तरताले हो,’ युथका अध्यक्ष प्रेम शाही भन्छन्, ‘समाज परिवर्तन हाम्रो ध्येय हो । सामाजिक रूपान्तरणको अभियानमा सक्रिय सबै युवाहरूको साझा समूह बनाएर दैलेखी युथ बनेको हो । खेलकुदलगायत समाज सेवाका कार्यक्रमलाई निरन्तरता दिन्छौं।’

समाज परिवर्तनको बाटो सजिलो नभए पनि निरन्तर प्रयास गर्ने उनले बताए । दैलेखी युवाहरूको बुझाइमा धेरैले प्रयास नै गर्दैन्, गफ मात्र छाँट्छन् । तर, सके उड्ने हो । उड्न नसके दौड्ने हो । दौड्न नसके घस्रने हो । तर, जसरी हुन्छ समाज रूपान्तरणमा अगाडि बढ्ने हो भन्ने मान्यता राखेर अघि बढेका छन् यी तन्नेरीहरू।

फुटबल मैदानमा आफैं चुना हाल्दै गरेका शाही भन्छन्, ‘यसरी एक्लो पातले मात्र छायाँ दिन सक्दैन । समूहमा नै शक्ति हुन्छ । त्यसैले समाज परिवर्तन सवैको सहकार्यमा मात्र सम्भव हुन्छ।’

युवाहरूको बुझाईमा समाज परिवर्तनको कठिन बाटो रोज्नुमा मुस्किल भूमिका अब्बल कलाकारलाई मात्र दिने गरिन्छ । जिन्दगीको रंगमञ्चमा अब्बल भूमिका निर्वाह गर्न सके जीवन सार्थक हुनेछ । अझै सशक्त रूपमा अघि बढ्ने उनीहरूको योजना छ । शुभकामना दैलेखी युथलाई ! नागरिक