सुर्खेत : संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले संघियता सफल बनाउन केन्द्रदेखि स्थानिय तहसम्म संचरनाहरु निर्माण हुन जरुरी रहेको बताएका छन् । सडक उद्घाटन गर्न डोल्पा जाने क्रममा सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
संघियताको पूर्ण कार्यन्वयन भइनसकेका कारण संविधान अनुरुप सरकारले सबै काम गर्न नसकेको उनले दाबी गरे । राजनीतिक क्षेत्रमा संघियता कार्यन्वयन भइसकेपछि वित्तिय र प्रशासनिक क्षेत्रमा पूर्ण रुपमा कार्यान्वयनमा आइनसकेको बताए ।
लामो समयपछि जनप्रतिनिधि आउनु र संरचना बनीनसकेका कारण पनि सरकारको काममा ढिलाई देखिएको उनको भनाइ छ । पूर्ण रुपमा संरचना नबनेकै कारण पनि प्रदेशहरुले सबै अधिकारको उपभोग गर्न नपाएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता समेत रहनुभएका पोखरेलले पार्टी एकिकरणको पनि प्रदेश र जिल्लास्तरमा छिट्टै टुंगो लगाइने दाबी गरे ।
केन्द्रमा सबै टुंगो लागिसक्यो, प्रदेश र जिल्लाको प्रक्रियामै रहेकोले केही आन्तरिक समस्या समाधान गरी छिट्टै सबै तहसम्म पार्टीको एकिकरण टुंगो लाग्ने उनले बताए ।